म फुच्ची भएर तपाईंलाई के भो ?

सविता सापकोटा

03ओहो ! रातको १२ बजिसकेछ। अब त सुत्नुपर्छ। बिस्तारामा पल्टिएकी मात्र थिएँ। मोबाइल बज्यो। रातको १२ बजे त्यो पनि अपरिचित नम्बरबाट । उठाउँ या नउठाउँ। द्वुविधामा परें ।

पापी मनले के–के सोच्न थाल्यो। कोही साथीले पो हो कि ? कोही आफन्तले पनि त हुन सक्छ । ह्या जोसुकैले होस् काम परे भोली गर्छन् । मनमा कुरा खेलिरहेपनि मोबाइलको घण्टी बज्न रोकिएन। मध्यरातमा को होला ?

लगातार मोबाइलमा घन्टी हान्ने। मध्य रातमा कुन अपरिचितको मसँग के काम प¥यो होला र कि ब्ल्याक मेल गर्न हो । ह्या, जेसुकै होस् उठाइदिन्छु, मनले भन्यो । मोबाइलको रिसिभ बटन थिचें– हेलो ।

उताबाट एउटा अधबैंसे युवकको जस्तै धोक्रे स्वरमा जवाफ आयो– ओइ, फुच्ची सन्चै छे ? सिधै फुच्ची पो भन्छ बा ! कस्तो म्यानर नभएको मान्छे रहेछ भन्न मन लागेको थियो तर भनिनँ । उसको प्रश्नको मतलब नै नगरी सोधें– हु इज दिस ?

उस्ले भयो –पहिले मेरो प्रश्नको उत्तर देऊ ।

नाईं, पहिले मेरो प्रश्नको उत्तर चाहिन्छ । मैले परिचित जस्तै ढिपी गरें। मनमा खुलदुली बढ्यो। स्वरपनि चिनेजस्तो लागेन् । उसले फेरि भन्यो– गेस मी ?

‘यस्तो रातको समयमा कल गर्ने अरु को हुन्छ । भुत होला‘ भनिदिएँ ।

हा. हा.. हा.. उ अट्टाहास हाँस्यो र भन्यो–डु यु बिलिभ इन घोस्ट फुच्ची ?

फेरि फुच्ची । उफ, चिनेको मान्छे जस्तै फुच्ची फुच्ची भन्छ त । फेरि सोधें– डु यु नो मी ? उसले भन्यो– यास । द्वुविधा थपियो ।

‘तिमी मेरो साथी हौ कि आफन्त ?‘ चिनेकै होला भनेर सोधें ।

‘त्यो चाहीँ पछि भन्छु‘, उसले भन्यो ।

‘मध्यरातमा के डिस्ट्रब गरिराख्या होला । भन्ने भा भन, तिमी को हो नत्र कल राखीदिन्छु‘ ठूलो स्वरमा गर्जिएँ ।

‘ओहो फुच्ची त डेन्जर रैछे‘ उसलाई मेरो ठूलो स्वरले कुनै असर पारेन। मेरो दिमाग फनफनी घुम्न लाग्यो । को हो पनि भन्दैन, मलाई चिनेको छ भन्दा पनि उत्तर दिँदैन, फेरि चिनेको जस्तो फुच्ची, फुच्ची.. भनिरहन्छ । कस्तो मान्छे काम छैन । रातमा कल गरेर अरुको निन्द्रा डिस्ट्रब गर्नेलाई, तँ जस्तासँग बोलेर मेरो टाइम खेर फाल्नु छैन‘ भनेर फोन काटिदिएँ ।

मोबाइल साइलेन्टमा राखेर सुत्ने प्रयास गरें । एकछिनसम्म मनमा कुरा खेलिरह्यो– को होला मध्यरातमा मेरो दिमाग खाने । पक्नै नै कोही बदमास हुनुपर्छ । तर मलाई देख्दै नदेखी म फुच्ची छु भन्ने कसरी थाहा पायो ?

बिहान उठ्दा मोबाइलमा ५ वटा मिस्डकल १ म्यासेज आएको रहेछ। हत्तपत्त मोबाइलको लक खोलें । अनि चर्को स्वरमा म्यासेज पढें– सरी फर डिस्ट्रबेन्स । आई विल कल यु भोली एट डे टाइम ।

खित्का छाडेर हाँस्न मन लाग्यो । सँगै बस्ने साथी पनि हाँस्न थालिन् र भनिन् – टुमरोको स्पेलिङ आएन होला । मैले पनि उनको कुरामा सहमति जनाएँ। दिउँसो १ बजेतिर फेरि त्यही नम्बरबाट कल आयो । बसमा थिएँ– फोन उठाइनँ । बाहिर हिँडदा जति नै अर्जेन्ट कल आएपनि उठाउने मेरो बानी छैन ।

२ बजेतिर रुममा आएँ र मिस्कल मारिदिएँ । तुरुन्तै कल आयो र भन्यो– फोन उठाउन पनि कति गाह्रो है ।

‘आई वाज बिजी‘ भनें ।

‘ओ ओ.. सन्चै छ्यौ‘ सामान्य आदरमा सम्बोधन ग¥यो ।

फिट एन फाइन अनि तिमी ?

यसरी नै हल्का कुराकानी हुने क्रम चल्दै गयो। धेरै दिनसम्म उसले आफ्नो परिचय खुलाएन । तर मलाई चाहीं सधैँ फुच्ची भन्थ्यो। लगातार १५ दिन जति उसले मलाई लगातार फोन गरिरह्यो र एकदिन मलाई एउटा प्रश्न सोध्छु है भन्यो ।

‘जम्मा एउटा मात्र, धेरै सोध्दा नि पैसा लाग्दैन क्यार‘ म जिस्किएँ ।

उसले प्रश्न सोध्न थाल्यो ।

‘आर यु सिङगल ?‘ उसको पहिलो प्रश्न ।

मास्टर माइन्ड त छैन मेरो त्यही पनि बुझिहालें, सायद चञ्चले उमेरले गर्दा होला । मैले बुझेको कुरा गलत पनि त हुनसक्थ्यो, जवानीमा होस र जोस दुइटै गुम्छ रे । उसले मलाई लाइन मारीराखेको रहेछ भन्ने मनमा लाग्यो । बुझ्दा बुझ्दा पनि नबुझे जस्तै गरी जवाफ दिएँ– नो, आई ह्याब वन ब्रोदर ।

‘धत लाटी, तिम्रो दिमाग पनि तिमी जस्तै फुच्ची नै रहेछ‘ उस्ले दोस्रो प्रश्न सोध्यो ‘डु यु ह्याब बिएफ (ब्वाई फ्रेण्ड)?‘ आफनो परिचय नै नखुलाएको मान्छेसँग सही कुरा भन्न उचित ठानिनँ। त्यहीँ पनि आफनो मनमा कसैको लागी भ्याकेन्सी खुलाएको भए प्रश्नको जकाफ अर्को हुन्थ्यो होला। मनमा कुनै भ्याकेन्सी नै थिएन । ‘एस आइ ह्याभ‘ भनेर उत्तर फर्काएँ ।

फुच्ची त हेर्दा मात्र सोझी रहिछे । आश्चार्यचकित पर्दै उसले भन्यो ।

हा… हा… म हाँसे ‘बिएफ हुदैमा बाङगे हुन्छन र ?

उ अड्कियो, एकछिन शब्दविहीन भयो । मेरो जवाफमा त्यस्तो के विष मिसिएछ ! हुन त केटाहरुलाई पार लगाउने सबैभन्दा बेस्ट फर्मुला नै यहि हो । केटा साथी नभएपनि छ भनिदिए २ कोस पर सर्छन्,केटाहरु । यो मैले मेरी मिल्ने साथी रमिलाबाट सिकेको फर्मुला हो । हरेक केटाहरुको कुदृष्टिमा म यही फर्मुला प्रयोग गर्छु र समस्याको समाधान निकाल्छु ।

भित्रि मनदेखि नै उसलाई चिन्ने रहर जागेर आयो। हतपत म कसैलाइ पनि कल गर्दिनँ । मोबाइलको ब्यालेस सक्नु बालुवामा पानी हाल्नु जस्तै लाग्छ। आखिर को हो त्यो ? लगातार मलाई फलो अप गरिरहेको छ । एकदिन आफंैले कल गरे र नम्र भावमा सोधें– प्लिज टेल मी, हु आर यु ?

उसले एकैपटकमा अबोध बालकले जस्तै भन्यो– आई एम अ कन्डक्टर । लौ चिन अब म को हो ?

जीवनको दौडानमा धेरै बसहरु चढियो, धेरै कन्डक्टरले भाडा मागे। लामो र छोटा दुरी अनुसार ज्यादा र कम ? कोही राम्रै पनि हुन्थे। आदरसाथ कुरा गर्थे । कोहीलाई यात्रु पैसा झार्ने माध्यम हुन्थे । त कोही पापी नजरले नियाल्थे पनि । ती कन्डक्टरलाई कुनै दिन चिन्नुपर्ला भन्ने कहिल्यै सोचिएन। त्यसैले त ख्याल गरिएन चढेका कैंयौ गाडीका कन्डक्टरहरुलाई ।

‘सरी आई क्यान्ट‘ भने ।

उसले भन्यो– तिमी एकदिन बिहानै मेरो बसमा रत्नपार्कदेखि नयाँबसपार्कसम्म गएकी थियौ ।

बल्ल याद आयो, त्यो मोरो पो रहेछ । जसले मेरो परिचयपत्र ५ मिनेटसम्म घोरिएर हेरेको थियो । उसले त्यतिबेला पनि भनेको थियो– तिमी त मभन्दा १ वर्ष २ महिना ५ दिनले कान्छी रहिछ्यौ । उसको कुराले म छक्क परेकी थिएँ । आखिर उसले मेरो कार्ड हेरेको थियो कि मेरो जन्ममिति ? उ हेर्दा मभन्दा ५ वर्ष जेठो जस्तो देखिन्थ्यो । कालो, मोटो अनि अग्लो ।

बिहानीको समय भएकाले म बसमा एक्लै थिए । उसले मलाई बारम्बार प्रश्न गरिरहेको थियो । तिमि किन फुच्चि भएकी ? कस्तो प्रश्न म आफैं चाहेर फुच्ची भए जस्तै । त्यतिबेला मैले उस्लाई सामान्य उत्तर दिएकी थिएँ– म फुच्ची भएर तपाईलाइ के भो र ?

एकाएक त्यो दिनको घटना स्मृतिमा आउन थाल्यो। ‘हेर्दा ८ कक्षामा पढने जस्तै देखिन्छ्यौ पनि भनेको थियो उसले ।

‘देखिए सोच्नुस्, म ८ कक्षामा पढने केटी हुँ ।‘ मैले बसबाट निस्कदै भनेकी थिएँ ।

झर्ने बेलामा उसले ‘मलाई अलि धेरै खाने गर, सधैँ फुच्ची भएर काम चल्दैन‘ पनि भनेको थियो ।

म फुच्ची भएकोमा एकदिन बसको यात्रामा भेटेको कन्डक्टरलाई समेत त्यती चिन्ता । अचेल उसले फोन गर्न छोडिसक्यो । तर उसको कुरा मेरो दिमागमा खेलिरहन्छ ।

आफू सानी भएकोमा म आफंैलाई त कुनै संकोच छैन । कन्डक्टरदेखि आफन्तसम्म म फुच्ची भएकोमा किन चिन्ता गर्छन ?

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्: