२२ को हत्या, ९१ को बलात्कार

04काठमाण्डौ । एक वर्षको अवधिमा काठमाडौं जिल्लाभित्र २२ जनाको हत्या भएको छ । ९१ जनामाथि बलात्कार भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नौजनाको अपहरण भएको छ ।

परिसरका अनुसार आर्थिक वर्ष ०७१ र७२ मा काठमाडौंमा चार हजार ६ सयवटा अपराधका घटना भएका छन् । ती घटनामा पाँच हजार आठ सय ८८ जना पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षमा पाँच हजार ६ सय दुईवटा मुद्दा दर्ता भएको नयाँ पत्रिकामा खबर छ ।

आव ०७१र७२ मा सबैभन्दा धेरै पुसमा चार सय ७७ वटा मुद्दा काठमाडौं प्रहरीले दर्ता गरेको छ । वर्षभरि अनुसन्धान गरिएका मुद्दामध्ये तीन सय ८६ जना फरार रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले बताए ।

कर्तव्य ज्यान, ठगी, मानव बेचबिखन, हातहतियार, लागुऔषधजस्ता मुद्दा घटेका छन् । ज्यान मार्ने उद्योग, बलात्कार, बैंकिङ कसुरजस्ता मुद्दाको संख्या पनि अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ ।

फेसबुकमा चिनेका युवकद्वारा ठगी

फेसबुकमार्फत चिनजान भएका एक युवकले फ्रान्स पठाइदिने भन्दै साढे नौ लाख रुपैयाँ ठगी गरेका छन् । धरानकी सन्तोषी सुब्बालाई धनकुटाका प्रवेश राईले ठगी गरेका हुन् । आफू फ्रान्सको पिआर होल्डर भएको भन्दै विश्वासमा लिएर उनले ठगी गरेका थिए ।

भिसा लगाइदिने भन्दै पैसा र पासपोर्टसमेत लिएर फरार रहेका राईलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ । थलीस्थित उनको डेरामा छापा हानी प्रहरीले दुई युवतीको पासपोर्ट र साढे २ लाख रुपैयाँसमेत बरामद गरेको छ ।

विभिन्न नक्कली कागजपत्रसमेत बरामद गरेको प्रहरीले जनाएको छ । उनले धेरै व्यक्तिलाई युरोप पठाइदिने भन्दै ठगी गर्दै आएको महाशाखाले जनाएको छ । त्यस्तै, नेपाली सेना र नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गोरखाका दीपक परियारलाई समेत महाशाखाले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: