प्रचण्ड गुजरात पुगे

prachanda photoकाठमाण्डौ । भारत भ्रमणमा रहेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ गुजरात पुगेका छन् । भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी लिन उनी गुजरात पुगेका हुन् । प्रचण्ड दिल्लीबाट मुम्बई हुँदै शनिबार साँझ गुजरातको भुजमा गएका हुन् ।

सरकारी गेस्टहाउसमा बसेका प्रचण्डले गेस्टहाउसमै गुजरात सरकारका प्रतिनिधिबाट ‘भूकम्पअघिको भुज र भूकम्पपछिको भुज’को विषयमा पावरप्वाइन्टमार्फत जानकारी लिएका छन् ।

भुजमा विमानस्थलबाहिर स्थानीयले प्रचण्डलाई स्वागत गरेका थिए । ‘भव्य स्वागतपछि सीधै सुविधा गेस्टहाउसमा र्पुयाइयो र यहाँका उच्च अधिकारीले अध्यक्षलाई पावरप्वाइन्टबाट भुजबारे ब्रिफिङ गर्नुभयो,’ प्रचण्डसँगै भ्रमणमा रहेका उनका सहयोगी शिव खकुरेलले भने ।

प्रचण्डले आइतबार दिनभर गुजरातको स्थलगत अवलोकन गर्ने कार्यक्रम तय भएको खकुरेलले जानकारी दिए । उनले भने, ‘दिनभर गुजरातको अध्ययन अवलोकन गरेपछि भोलि राति दिल्ली फर्कनुहुन्छ ।’

भारत भ्रमणमा जानुअघि प्रचण्डले भूकम्पपछिको पुनर्निर्माणबारे जानकारी लिन गुजरात जाने बताएका थिए । ‘भूकम्पपछि देशलाई पुनर्निर्माण गर्नु हाम्रो प्रमुख चुनौती हो,’ विमानस्थलमा पत्रकारसँग उनले भनेका थिए, ‘पुनर्निर्माणको कुरा गर्दा गुजरातको उदाहरण पटक–पटक आउने गर्छ ।

गुजरातको स्थलगत अवलोकन गर्ने र नेपालका लागि सान्दर्भिक भए केही सिक्ने मेरो योजना छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: