सहयोग रकम खर्च नगरेको भन्दै चीन असन्तुष्ट

chaina-flagकाठमाण्डौ । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालका १५ उत्तरी जिल्लामा बन्ने विकास परियोजना छनोटमा नेपालले ढिलासुस्ती गरेको भन्दै चीनले असन्तुष्टि जनाएको छ ।

नेपालको चारदिने भ्रमणमा आएको चीनको स्वशासित क्षेत्र तिब्बतका विदेश मामिला उपमहानिर्देशक लिउ किन नेतृत्वको प्रतिनिधिमण्डलले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीहरूसँग शुक्रबार भएको भेटमा परियोजना छनोटमा भएको ढिलाइमा असन्तुष्टि व्यक्त गरेको हो ।

‘सम्झौताअनुसार परियोजनाहरूको छनोटमा केही ढिलाइ हुन गएको छ। हामीले त्यो महसुस गरेका छौं । अब ती जिल्लाहरूसँग समन्वय गरी परियोजनाहरू छनोट तथा निर्माणलाई द्रुत गतिमा अघि बढाउनुपर्छ भन्ने चिनियाँ पक्षसँग कुराकानी भएको छ’, भेटमा सहभागी संघीय मामिला मन्त्रालयका उपसचिव प्रकाश दाहालले जनाएका छन् । उनले चिनियाँ सहयोग सीमा क्षेत्रका जिल्लामा कसरी परिचालन गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए ।

सम्झौता भएको नौ महिना बिते पनि माथिल्लो मुस्ताङको लोमान्थाङमा सय किलोवाटको सोलार पावर स्टेसन निर्माणबाहेक अन्य १३ जिल्लामा परियोजनाहरू छनोट हुन सकेको छैन । चीनसँगै सीमा जोडिएको रसुवा जिल्लामा पुस्तकालय निर्माण गर्ने भनिए पनि भूकम्पपछि अनिश्चित बनेको छ । लोमान्थाङमा बनाइएको सोलार स्टेसन आगामी महिना चीनले नेपाललाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।

उपसचिव दाहालले आगामी चार वर्षमा ती जिल्लाको मागअनुसार चिनियाँ सहयोगका परियोजना निर्माण गरिसक्ने बताए । ‘१५ जिल्लाका अधिकारीहरू र तिब्बती अधिकारीहरूबीच एक फोरम तयार गरी ती परियोजना कार्यान्वयन गराउन अघि बढ्ने गरी सहमति भएको छ’, दाहालले भने । ती परियोजना छनोट नेपालकै जिल्लाहरूले गर्ने उनले बताए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: