इलाममा १५ करोड २२ लाख भत्ता वितरण

ilamइलाम । जिल्ला विकास समिति इलामले गत वर्ष सामाजिक सुरक्षा भत्ताबापत १५ करोड २२ लाख रूपैयाँ वितरण गरेको छ । जिविसले पहिलो चौमासिकमा चार करोड ३१ लाख ६३ हजार ७५३ रूपैयाँ, दोस्रो चौमासिकमा छ करोड ३२ लाख ४१ हजार २४१ रूपैयाँ र तेस्रो चौमासिकमा चार करोड ५९ लाख एक हजार रूपैयाँ सामाजिक सुरक्षाभत्ता वितरण गरेको सामाजिक सुरक्षा शाखाका प्रमुख रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिल्लामा नौ हजार २३ ज्येष्ठ नागरिक, एक हजार ६८ ज्येष्ठ दलित, दुई हजार १४८ एकल महिला, दुई हजार ५१७ एकल विधवा, तीन हजार २०७ लोपोन्मुख आदिवासी जनजाति, २३० पूर्ण अपाङ्ग, ३७७ अति र आंशिक अपाङ्ग तथा ७६४ जना विपन्न दलित बालबालिका रहेको सो शाखाले जनाएको छ ।

जिविसले ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, विधवालाई मासिक ५०० रूपैयाँ, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अपाङ्गलाई एक हजार रूपैयाँ, अति र आंशिक अपाङ्गलाई ३०० रूपैयाँ र विपन्न बालबालिकालाई २०० रूपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: