प्रसारण लाइन नभएपछि १८ मेगावाट बिजुली खेर

Light-e1419470339130काठमाण्डौ । विद्युत् प्राधिकरणले प्रसारण लाइन नबनाइदिँदा २२ मेगावाटको माई जलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ । प्राधिकरणले तोकिएको समयमा प्रसारण लाइन नबनाइदिँदा आयोजनाबाट १८ मेगावाट बिजुली खेर गएको हो ।

प्रसारण लाइन नहुँदा ऊर्जा संकटका वेला लाखौँ युनिट बिजुली खेर गइरहेको छ । आयोजनाका लगानीकर्ताले आम्दानी गुमाइरहेका छन् । आयोजनाबाट प्राप्त हुने रोयल्टी पनि गुमिरहेको छ । सानीमा माई हाइड्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.सुवर्णदास श्रेष्ठले प्रसारण लाइन अभावमा आयोजनाबाट ४ मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको जानकारी दिए ।

‘प्रसारण लाइन अभावमा २२ मेगावाटको आयोजना ४ मेगावाटमा मात्रै चलिरहेको छ, पूर्ण क्षमतामा चलाउन नसक्दा करौडौँ रुपैयाँ आम्दानी गुमाइरहेका छौँ,’ सिइओ श्रेष्ठले भने, ‘सस्तोमा पाउने बिजुली खेर फालेर प्राधिकरणले पूर्वाञ्चलको लोडसेडिङ कम गर्न भारतबाट महँगोमा बिजुली आयात गरिरहेको छ ।’ प्रसारण लाइन भएमा असार, साउन, भदौ, असोज र कात्तिकमा आयोजनाले २२ मेगावाट बिजुली उत्पादन गर्न सक्छ ।

त्यसपछि खोलामा पानी घटेसँगै बिजुली उत्पादन घट्छ । प्राधिकरणले काबेली करिडोर प्रसारण लाइनको दमक–गोदक ३४ किलोमिटर प्रसारण लाइन तोकिएको समयमा बनाउन नसकेपछि गत माघमा अस्थायी व्यवस्था गरी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

प्राधिकरणले १ सय ३२ केभी प्रसारण लाइन बनाउन नसकेपछि गोदक सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणको पुवा खोला जलविद्युत् केन्द्रमा रहेको सबस्टेसनमा अस्थायी रूपमा बिजुली जडान गरिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: