सशस्त्रको जिम्मेवारी यकिन गरिदिन सुझाव

police biwadकाठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको मतभेद अन्त्य गर्न बनेको कार्यदलले बुधबार प्रहरी प्रधान कार्यालयमा गएर प्रहरी नेतृत्वदेखि डीआईजीसम्मको राय बुझेको छ ।

सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिन खोजिएपछि यी दुई संगठनबीच मनमुटाव पैदा भएको छ।गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालको संयोजकत्वमा बनेको कार्यदलले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, एआईजी र डीआईजीसँग राय बुझेको हो ।

कार्यदलले कार्यक्षेत्रमा काम गर्दा सशस्त्र प्रहरीसँग समन्वय गरी काम गर्दा प्रहरीलाई अप्ठ्याराका बारेमा बुँदागत कुरा सोधेको स्रोतले बताएको छ । जबाफमा प्रहरी नेतृत्वले अर्धसैन्य संरचनामा बनेको सशस्त्रले प्रहरीअनुसारको काम गर्न खोज्नु विडम्बना भएको तर्क गरेका थिए ।

निहित स्वार्थका लागि सुरक्षा फौजलाई गृह मन्त्रालयले अनावश्यक विवादमा तानेकोप्रति पनि केही डीआईजीले गृहमन्त्रीको आलोचना गरेको स्रोतले बताएको छ । दूतावासको सुरक्षा हेर्ने जिम्मेवारी सशस्त्रले लिने कि नेपाल प्रहरीले हेर्ने भन्नेमा पनि स्पष्ट नभएको अवस्थामा केही डीआईजीले अमेरिकी दूतावास मात्रै हेर्दै आएको सशस्त्र प्रहरीलाई कि सबै दूतावासको जिम्मेवारी दिन वा कुनै पनि दूतावासको जिम्मेवारी नदिनसमेत सुझाव दिएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: