घुम्टोमै हराए मधेसी महिला

janakpur mapजनकपुर । समाजशास्त्रमा स्नातक जनकपुर उपमहानगरपालिका(४ निवासी २९ वर्षीया मीनाक्षी झाको राम्रो शिक्षिका बन्ने सपना थियो। आफ्नै नामबाट चिनिने उनको लक्ष्य थियो। १९ वर्षको उमेरमै बिहे भयो। घरबाट पढ्ने अनुमति त पाइन् तर बाहिर काम गर्ने अनुमति पाइनन् ।

बिहे भएको १० वर्ष बित्दा उनी दुई सन्तानकी आमा बनिन्। मीनाक्षीका दिन घरपरिवारका लागि कामकाज गर्न र बालबच्चाको स्याहार गर्नमै बित्छ। घरबाहिरको दुनियाँ भनेको बच्चाहरूलाई प्रतिदिन विद्यालय र्पुयाउनु, त्यहाँबाट ल्याउनु र कहिलेकाहीँ मन्दिर जानु ।

बिहे गरेर घर आउँदा उनले एकपटक श्रीमान्लाई हिम्मत गरेर सोधेकी थिइन्, ’के म बाहिर काम गर्न सक्छु?’ श्रीमान्को जवाफ आयो, ’हाम्रो खान्दानमा स्वास्नीको कमाइ खाने परम्परा छैन ।’त्यही दिनदेखि बाहिर निस्केर स्वतन्त्र भई काम गर्ने सोच दिमागबाट निकालेको मीनाक्षीले बताइन् ।

ज्योति झाले दुई वर्षअघि गणित विषय लिएर प्रथम श्रेणीमा बीएड उत्तीर्ण गरिन्। स्नातकोत्तरसम्म अध्ययन गरेर प्राध्यापिका बन्ने सोचमा रहेकी ज्योतिको बिहे परीक्षा उत्तीर्ण भएकै वर्ष भयो ।

आफूभन्दा पाँच वर्ष जेठासँग बिहे गर्ने क्रममा उनलाई कसैले ’केटो कस्तो छ, तिमीलाई मन परेको छ वा छैन? ’ भनेर सोधेन। प्राध्यापिका बन्ने सपना बोकेर ससुराली गएकी ज्योतिले महिलालाई घरबाहिर निस्कन नदिने परिवारको वातावरण देखेपछि मनको इच्छा मनमै दबाइन् ।

जनकपुरस्थित माइत आउँदा ज्योतिले घरमा बुहारीहरूलाई सजाउने सामानझैं राख्ने, धेरै बोल्ने, जोडले हाँस्ने, ठूलो आवाजमा कुरा गर्ने र बाहिर हिँड्ने स्वतन्त्रतासमेत नरहेको बताइन्।२८ वर्षीया शिला ठाकुरले १२ कक्षासम्म पढे पनि बीचमै बिहे हुँदा त्योभन्दा अघि पढ्न पाइनन् ।

’धेरै पढेर के गर्छौ, जति पढे पनि रोटी नै सेक्नुपर्छ’ भन्ने आमाको भनाइ शिला सधैं सम्झन्छिन्। एक छोरीकी आमा शिला आफू धेरै नपढे पनि छोरीलाई उच्चशिक्षा दिलाएर समाजमा आफ्नो खुट्टामा उभिनसक्ने बनाउन सक्दो प्रयास गर्ने बताउँछिन् ।

उच्च जाति मानिने मधेसी ब्राह्मण, कायस्थ, भूमिहारजस्ता जातिका महिला अझ बढी घुम्टोभित्र दबिन बाध्य छन्। घरबाहिर निस्कने हिसाबले ‘उच्च जातका महिला’ मधेसी दलितभन्दा पनि पछाडि छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: