भदौ १५ देखि निगमले बैंगलोर र मुम्बईमा उडान सुरु गर्ने

Nepal-Airlines-A320-Finalकाठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भारतको बैंगलोर र मुम्बई शहरमा उडान सुरु गर्ने भएको छ । निगमले भदौ १५ गतेदेखि नियमित उडान सुरु गर्ने भएको हो ।

दुबै शहरमा सातामा ३र३ दिन उडान भर्न लागेको निगमका प्रवक्ता रामहरि शर्माले अनलाइनखबरसँग बताए । निगमले मुम्बईमा सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ भने बैंगलोरमा मंगलबार, बिहीबार र शुक्रबार उडान भर्नेछ । निगमको जहाज बैंगलोरका लागि दिउँसो १२ बजेतिर काठमाडौंबाट उड्ने छ ।

त्यस्तै, मुम्बईका लागि २ बजे उड्ने छ । निगमले दुबै गन्तव्यका लागि भाडा करसहित १० हजार ९२ रुपैयाँ तोकेको छ । यो एकतर्फी प्रमोशनल भाडादर हो । मुम्बई र बैंगलोर उडान सुरु भएसँगै निगमका गन्तव्य ७ पुग्नेछन् ।

केही महिना अगाडिमात्र निगमले दिल्ली उडान सुरु गरेको थियो । दुईवटा बोइङबाट उडान भरिरहेको निगमले थप दुईवटा एयर बस प्राप्त गरेपछि आफ्नो उडान गन्तव्य बढाइरहेको छ । चीनको ग्वोञ्झाओ र दुबईमा पनि निगमले छिट्टै उडान सुरु गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: