म्यानपावर व्यवसायी र सरकारबीच ३१ बुँदे सहमति, बन्द रहेका म्यानपावर आइतबारबाट खुल्ने

timthumb (3)काठमाण्डौ । आन्दोलनरत म्यानपावर व्यवसायी र श्रम मन्त्रालयबीच ३१ बुँदे सहमति भएको छ । सिंहदरबारमा हिजो साँझ बसेको वार्तामा ३१ बुँदे सहमति भएको श्रम मन्त्रालयका निमित्त सचिव तथा वार्ता टोली संयोजक सूर्य श्रेष्ठले जानकारी दिए ।

वार्तामा मलेसिया लगायतका खाडी देशमा फ्रि भिसा र टिकटमा कामदार पठाउने लगायतका विषयमा सहमति जुटेको उनले बताए । सहमतिसँगै १९ दिनदेखि बन्द रहेका म्यानपावर कम्पनीहरु आइतबारदेखि खुल्ने भएका छन् ।

फ्रि भिसा र टिकटमा काम गर्न विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र परे व्यवसायीले नै नेपाल फर्काउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयमले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको श्रेष्ठले बताए ।

विदेश जाने कामदारसँग १० हजारभन्दा बढी शुल्क उठाउन नपाउने विषयमा सहमति जुटेको उनले बताए । यसअघि व्यवसायीहरुले प्रतिकामदार १५ हजार उठाउनुपर्ने माग गरेका थिए । सरकारले गत असार २१ गतेदेखि फ्रि भिसा र टिकटमा कामदार विदेश पठाउने निर्णय गरेसँगै व्यवसायी सडक आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: