चार दल कस्सिए मस्यौदा परिमार्जन गर्न

sambidhan 2072काठमाण्डौ । जनताका सुझावका आधारमा संविधानको मस्यौदा परिमार्जन गर्न प्रमुख चार दल कस्सिएका छन् । कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले सुझाव संकलनका क्रममा उठेका मुद्दाको प्राथमिकता निर्धारण गर्न प्रमुख सचेतकलाई जिम्मा दिएका छन् ।

त्यसपछि शीर्ष नेताहरूले जनताका कुन–कुन सुझाव कसरी सम्बोधन गर्ने निधो गर्नेछन् । जनतासँग सुझाव संकलनका क्रममा महत्त्वपूर्ण सुझाव आएपछि दलहरू त्यसलाई सम्बोधन गर्न संवेदनशील बनेका हुन् ।

संविधानको मस्यौदामा कतिपय छुटेका विषय समेट्न, अधुरा विषय पूरा गर्न र भएका त्रुटि सच्याउन संविधान निर्माणका सम्बन्धमा जेठ २५ गते १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलले आन्तरिक गृहकार्य गरिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ चार दलका अध्यक्षहरूको मात्रै बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मात्र सहभागी थिए ।

त्यसैको निरन्तरता स्वरूप आइतबार बिहान संविधान निर्माण प्रक्रियामा संलग्न दोस्रो तहका नेतासहित बसेको बैठकले चारै दलका प्रमुख सचेतकलाई प्राथमिकता निर्धारण गर्ने जिम्मा दिएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: