वन कर्मचारीको मिलेमत्तोमा तस्करी हुने गरेको खुलासा

kath taskarभद्रपुर । झापाको दक्षिणी क्षेत्रका वनमा वन समितिका केही पदाधिकारी र वन सुरक्षाको जिम्मेवारी पाएका वन कर्मचारीहरुको फितलो सुरक्षाका कारण काठ तस्करी बढेर गएको छ । वन कर्मचारीले तस्करसँग साँठगाँठ गरी रातको समयमा काठ तस्करीको माहौल बनाएर तस्करी हुदै गरेको काठ स्थानीयले पत्ता पाएपछि काठ तस्करी हुने गरेको खुलासा भएको हो ।

गएराति जलथल स्थित कालिका सामुदायिक वन समितिको जंगलबाट चोरी गरी ४३ क्युफिट काठ लानेक्रममा पछ्याउदा समितिका केहि पदाधिकारीहरुले गोलधाप गाविसको डिम्वासुरी भन्ने स्थानबाट नम्वर नभएको ट्याक्टरको ट्रलिमा फालिराखेको काठ वरामद गरी झापा वन कार्यालयमा बुझाएपछि सो क्षेत्रमा काठ तस्करीको रहस्य सतहमा आएको हो ।

तस्करले आफुलाई समितीले चिन्ने भएका कारण काठ बोकेको नम्बर विनाको ट्रलि छोडेर ट्याक्टर लिएर फरार भएको हुन सक्ने जिल्ला वन कार्यालय झापाका वन अधिकृत इन्द्रमणि भण्डारीले बताए । उनले फरारको खोजी कार्य भइरहेको बताए ।

मध्य रातमा दक्षिणी झापाका सवै वनबाट हरिया सखुवा काटेर ट्याक्टरमा लोड गरी लाने क्रम केही महिना यता तीव्र रुपमा बढ्दै गएको भए पनि वन सुरक्षाका लागि खटाइएका कर्मचारीले काठ तस्कर पक्राउ गर्न सकेका छैनन् तर केही वन समितिका पदाधीकारीले काठ पक्रेर वन कार्यालयमा बुझाउने अवस्था भने आइ रहेको छ ।

जलथल सेक्टर इन्चार्ज अनिल कुमार गुप्ताले आफुलाई सवैकुरा जानकारीमा नआएको हुदाँ वन सुवेदार रामनाथ यादवलाई सम्पर्क गर्नु भन्दै जिम्मेवारीवाट पन्सिए । जिल्ला वन कार्यालय झापाका अधिकृत भण्डारीले आफ्ना कर्मचारीले वन सुरक्षामा कमजोरी नदेखाएको दाबी गर्दै काठ तस्करी नियन्त्रमा प्रतिबद्धता जनाइ रहँदा पनि सो क्षेत्रमा रातारात सखुवा कटान बढ्दै जानुले अन्योल्ता छाएको बताए ।

उपभोत्तालाई सम्र्पूण जिम्मेवारी दिएको हुदाँ सुरक्षाको आवश्यक परेमा मात्र सहयोग गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: