पहिचान फेरिँदैछ देवीभक्तको

लक्ष्मी काफ्ले

devi-bhakta-2बिर्तामोड । कुनै समय फोटो खिचाउन स्टुडियोसम्म गएर घण्टौं लाईन बस्नुपथ्र्यो । फोटो खिचेको दुई महिनापछि मात्र आफूले त्यो फोटो हेर्न पाईन्थ्यो । नेपालमा खिचेको फोटोको ‘रिल’लाई हङकङ, सिङ्गापुर लगेर धुलाएर महिनौंपछि ल्याईपुर्याईन्थ्यो ।

अहिलेको प्रविधिको युगमा यी सब कुरा विश्वास गर्न गाह्रो होला । तर यो यथार्थ हो । तर जब हिकोला कलर ल्याबले २०४४ सालबाट नेपालमै फोटो धुलाउन सुरु गर्यो, विदेशसम्म धाउने झञ्जट हटेर गयो । बिर्तामोड निवासी देवीभक्त श्रेष्ठले नेपालमा हिकोला कलर ल्याब सुरु गरेर फोटो धुलाउन विदेशसम्म लैजानुपर्ने बाध्यताको अन्त्य गरेका हुन् ।

तर, फोटोग्राफीको क्षेत्रमा देश तथा विदेशमा भिन्न परिचय बनाएका उनै देवीभक्त श्रेष्ठको परिचय अब बिस्तारै फेरिँदै गएको छ । कुनैबेला देश तथा विदेशमा चर्चित हिकोला कलर ल्याबमा पहिलेको जस्तो चहलपहल अहिले छैन ।

प्रविधिले दु्रत गतिमा फड्को मारेसँगै हिकोलाको व्यापार क्रमशः घट्दै गएको श्रेष्ठ स्वीकार्छन् । तर , हिकोला कलर ल्यावको नामबाट परिचित उनी हिकोलाकै नामबाट होटल व्यवसाय सुरु गर्दैछन् । सम्भवतः यसै महिनाको अन्त्यतिर हिकोला हेरिटेज प्रा.लिको उद्घाटन हुँदैछ ।

यसरी सुरु भयो हिकोला

devi-Bhakta-1देवीभक्त श्रेष्ठ धेरै वर्षअघि दुधको व्यवसाय गर्थे । गाउँ–गाउँ गएर दुध संकलन गर्ने उनी त्यसबाट क्रिम, नौनी निकालेर काठ्माण्डौं, भुटान लगेर बेच्थे । आफ्नो व्यापारका सिलसिलामा श्रेष्ठ हप्तामा एकपटक काठ्माण्डौ जान्थे ।

‘त्यतिबेला झापाबाट हप्तैपिच्छे काठ्माण्डौं जाने म मात्र थिएँ होला,’ उनी भन्छन्– ‘त्यतिबेला काठ्माण्डौं जानु भनेको अहिले अमेरिका, युरोप गएकोभन्दा बढी महत्व हुन्थ्यो ।’ कहिले काहिँ त उनी झापाबाट हिँडेको तीन दिनमा मात्र काठ्माण्डौं पुग्थे ।

त्यसबेला बिर्तामोडमा मेदनी प्रसाई (हाल स्वर्गीय)ले फोटो स्टुडियो सञ्चालन गर्थे । घीउ बेच्न श्रेष्ठ हप्तैपिच्छे काठ्माण्डौं जाने गरेको थाहा पाएपछि प्रसाईले उनैलाई रिल बोकाएर पठाउन थाले । श्रेष्ठ घीउ र रिल दुबैथोक लिएर काठमाण्डौं जान थाले । काठ्माण्डौं पुगेर उनी रिललाई हङकङ, सिङ्गापुर पठाइदिन्थे अनि घीउ पनि बेचेर झापा फर्किन्थे ।

‘त्यतिबेला फोटो हात पार्न महिनौं लाग्थ्यो,’ उनी सुनाउँछन्– ‘नाम चलेका मान्छेको घरमा मात्रै रङ्गिन फोटो हुन्थ्यो ।’ श्रेष्ठले रिल ओसार्न थालेपछि स्टुडियो सञ्चालक प्रसाईले १५ दिनमै ग्राहकलाई फोटो उपलब्ध गराउन थाले ।

यता श्रेष्ठ पनि घीउको व्यापारबाट भन्दा रिलबाटै बढी कमाउन थालिसकेका थिए । फोटोग्राफीबाट पैसा कमिने बुझेपछि उनले घीउ व्यापार छोडेर हिकोलामा लगानी गरे । बिस्तारै उनी घीउसाहुबाट फोटोसाहु बने ।

हिकोलामा ०४३/०४४ मा लगानी गरेका उनले फोटोग्राफीमा इटहरी, नेपालगञ्ज, बिर्तामोड, धुलाबारी, काँकरभिट्टा, ताप्लेजुङ हुँदै मेचीदेखि महाकालीसम्म नै फड्को मारे । ०४४ सालमा उनले डिजिटल प्रविधि पनि भित्र्याए ।

‘अहिले पो हात–हातमा मोबाईल छन् त, त्यतिबेला त फोटो खिच्न, धुलाउन घण्टौं लाईनमा बस्नुपथ्यो,’ उनी भन्छन्– ‘भारतका ठूल्ठूला शहरबाट पनि ४/५ दिन लगाएर यहाँ फेटो धुलाउन आउँथे ।’ श्रेष्ठ फोटोग्राफी सम्बन्धी प्रविधि हेर्न जर्मनी पनि पुगे ।

अब होटल व्यवसायी

प्राविधिको परिवर्तनका कारण फोटोग्राफीको व्यवसाय धरासायी बनेको श्रेष्ठको बुझाई छ । प्रायस कलर ल्याव उद्योग बन्द हुन थालेको पनि उनले देखेका छन् । ‘अब मैले पनि बेलैमा बिचार पुर्याउनैपर्छ जस्तो लाग्न थाल्यो,’ उनी भन्छन्– ‘समयको माग पनि होला, अब एउटै छानामुनी अनुपमा ट्राभल्स, हिकोला कलर ल्याब र अतिथि सत्कारका लागि सुविधासम्पन्न होटल पनि देख्न पाउनुहुनेछ ।’

‘ट्राभल्स, कलर ल्याव र होटल’ तीनवटै पर्यटन व्यवसायभित्रै पर्ने उनको बुझाई छ । होटल व्यवसाय सुरु गरेपनि उनी हिकोला कलर ल्यावलाई निरन्तरता दिईरहने छन् । फोटोग्राफीलाई उनी ‘मातृपेशा’ भन्छन् । ‘फोटोग्राफी कला क्षेत्र हो ।

यो मर्दैन, बरु परिवर्तन हुन्छ,’ श्रेष्ठ भन्छन्– ‘कलर ल्याबको आम्दानीमा कमी आएकाले होटल पनि जोडेको हुँ ।’ अब हिकोला हेरिटेज बिर्तामोडमा प्रवेश गरेपछि ट्राभल एजेन्सी, फोटोग्राफी र परिवारसहित आएर खाना खान मिल्ने सुविधासम्पन्न होटल देख्न सकिन्छ । तीनवटै सुविधा एकै ठाउँमा पूर्वमै पहिलो भएको श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: