‘यसरी निस्किएँ नर्कबाट’

00वीरगन्ज । रक्सौलको सडक। रातको करिब साढे ९ बजेको थियो। १५ वर्षीया एक किशोरी सानो कुम्लो बोकेर छिटो–छिटो पाइला चालिरहेकी थिइन् । सडक सुनसान थियो। रेल स्टेसनबाट भन्सार इलाकातिर आउँदा बीचको अनकन्टार भागमा पुरुष बोली सुनियो ।

हेर्दै नहेरी अघि बढदै थिइन्, पाँचजना केटाले घेरिसकेछन् । केही नगर्न हात जोडेर बिन्ती गरिन् । उनीहरू झन् नजिक आए । केही नचलेपछि चिच्याइन्। भाग्यवश नजिकै एउटा मोटरसाइकल रोकियो । उसले पुलिसलाई खबर गरेको प्रस्टै सुनियो । केही मिनेटमै प्रहरी भ्यान आइपुग्यो। जिस्क्याउने केटाहरू कुलेलाम ठोके । उनी हुन् १५ वर्षीया थारू युवती। भारतमा बेचिएकी उनी अर्केस्ट्रारूपी ‘कोठी’ बाट बल्ल–बल्ल भागिन् । परिबन्दमा बेचिएकी उनी बाटामा फेरि झन्डै सामूहिक बलात्कारको सिकार भइन् ।

उनको मार्मिक जीवन–संघर्षको कथा
बाउले रक्सी खाएर आमालाई सधैं कुट्थे। आमाले धेरै सहिन्। कहिल्यै हात फर्काइनन्। बरु असह्य भएपछि एकदिन अर्कैसँग गइन् । उनी ८ कक्षामा पढ्थिन् । भाइ ३ मा। आमाले मेलापात गरेर उनीहरूलाई पढाएकी थिइन्। जब उनी हिँडिन्, कुट्ने श्रीमती नपाएपछि बाउ घरमै आउन छोडे । पढ्ने त परै जाओस्, चुलो जोर्ने स्रोत पनि भएन उनीहरूसँग। बहिनीको दुर्घटनामा मृत्यु भयो । बिचल्लीमा परेपछि उनी र भाइ किताबकापी च्यापेर फुपूको घरमा पुगे। त्यहाँ उस्तै बिजोग थियो। फुपाजू बितिसक्नुभएको । फुपूलाई आफ्नै सन्तान सम्हाल्न हम्मे थियो। त्यसमाथि थपिए उनीहरू ।
काम खोज्दै हिँडेकी एउटी दिदी काठमाडौंमा छु भन्छिन्। भारततिर पुगेकी अर्की दिदीले उतै बिहे गरिन्। ‘दिदी भएको ठाउँ पत्ता लाउन पाए त,’ उनले सोचिन्, ‘बरु उतै जाने थिएँ।’ नभन्दै त्यही गाउँमा माइती भएकी सीता पटेल एक साँझ उनको फुपूको घरमा आइन्। ‘भारतमा तेरो दिदीलाई मैले भेटेर आएकी। तँ पनि भेट्न जाने भए हिँड्,’ उतै बिहे गरेकी उनले भनिन्, ‘काम पनि पाइन्छ। फुपूलाई सधैं के दुस्ख दिन्छेस् ?’ समस्या एकातिर छ, बाउ–आमाले त्यागेपछि उनलाई न्यास्रोसमेत लागिरहेको थियो। दिदीलाई भेट्न जाने भनेपछि मन फुरुङ्ग भयो। तुरुन्तै जाउँ–जाउँ लाग्यो। ‘हुन्छ’ भनिदिइन् ।

सीताले उनलाई बुटवलबाट वीरगन्ज र्पुयाइन्। ‘उनले राति अबेला पारेर गल्ली–गल्ली हुँदै चोरबाटो भारततिर छिराइन उनले करिब ७ महिनाअघिको घटना सुनाइन्, ‘पर्सौनीमा आफ्नो मान्छेको घरमा त्यो रात राखिन्। भोलिपल्ट गाडीमा राखेर बगै बक्तरा भन्ने ठाउँमा र्पुयाइन् ।’

मेरो दिदीको घर कहाँ छ ? उनले भोलिपल्ट सोधिन्। उनले भने एउटा थोत्रो घरको सानो कोठामा र्पुयाइन्। त्यहाँ केही केटाकेटी खाँदखुँद बसेका थिए। ‘यो अर्केस्ट्रा हो,’ सीताले चिनाइन्, ‘यहाँ केही दिन नाच्, अनि दिदीकहाँ र्पुयाइदिन्छु ।’

त्यही दिनदेखि उनलाई नाच्न सिकाए। हिन्दी र भोजपुरी फिल्मका गीतहरू बज्थे, त्यसको तालमा नाच्नु पर्थ्यो। ‘नजान्दा सीता र उसको लोग्ने पप्पु पटेलले पेटी र बाँसको भाटाले हान्थे,’ सुनाउँदा सुनाउँदै उनले आँसु झारिन्, ‘त्यस्ता पेटी र भाटा त कति खाइयो कति ।’

सुवास पटेल नामका साहुको अर्केस्ट्रामा पप्पु म्यानेजर रहेछन् । श्रीमती सीता विशेष ग्राहककहाँ नाच्ने। त्यसभन्दा ठूलो उनको जिम्मेवारी नेपालबाट युवतीहरू ल्याउने। ‘गाउँकै बहिनी पर्ने पनि लगेकी छन्’ उनले भनिन्, ‘त्यहाँ भएका सबै उनैले लगेका रे ।’

भत्किएको झुपडीको कुचुक्क कोठामा ८ युवती र ३ जना केटा एकै ठाउँ बस्थे। खान दाल, चामल र तरकारी साहुको घरबाट आउँथ्यो। पालो गर्दै पकाउनुपर्थ्यो ।
भारतमा पछिल्लो समय ‘अर्केस्ट्रा’ व्यवसाय खुब मौलाएको छ। यो हेर्दा नृत्य मण्डली हो । धनाढयको घरमा बिहे वा पार्टी भयो भने अर्केस्ट्रा टोली झिकाउँछन् । त्यहाँका किशोररकिशोरीले भरपुर मनोरन्जन दिने गरी नाचिदिनुपर्छ ।
‘नाच्नेलाई केटाहरूले जिस्क्याउँछन्। साहु वा म्यानेजरलाई फलाना केटी चाहियो भनेर भन्छन्,’ उनले भनिन्, ‘तीसँग पैसा लिएर साहुले जान बाध्य पनि पार्छ।’ यस्तो घटना कहिलेकाहीँ भए पनि साहु, म्यानेजर वा नाच्न राखेका केटाहरूबाटै यौन शोषण हुने गरेको उनले सुनाइन् ।

भारतमा त्यस्ता अर्केस्ट्राको संख्या बढिरहेको र तिनमा भएकाको ठूलो संख्या नेपाली रहेको पाइएको छ।आजको कान्तिपुरमा अखण्ड भण्डारी, शंकर आचार्यले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्: