काठ तस्करी गर्ने आठ पक्राउ

kath taskarभद्रपुर । जिल्ला वन कार्यालयको टोलीले सामुदायिक वनको काठ चोरेको आरोपमा आठजनालाई राजगढबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलथल –९ निवासी प्रेम तामाङ, रेश्मा पालाङसुताङ, दीपक तामाङ, कृष्ण तामाङ, सृजना तामाङ, चक्र लिम्बू, फूलमाया तामाङ र सरिता लिम्बू रहेको जिल्ला बन कार्यालय झापाले जनाएको छ ।

बन कार्यालयका अनुसार जलथलमा रहेको शान्ति सामुदायिक वन क्षेत्रबाट सखुवाका लाथ्रा (बढ्दै गरेको बिरुवा) काटेर बिक्रीका लागि राजगढ बजार ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला वन कार्यालय झापासहित मनकामना वन समूह राजगढ, इलाका प्रहरी कार्यालय राजगढ र स्थानीय उपभोक्ताको सहभागितामा गरिएको संयुक्त वन गस्ती टोलीले उनीहरुलाई काठ लोड गरिएको साइकलसहित पक्राउ गरिएको थियो ।

पक्राउ परेकामध्ये केहीले सखुवाका लाथ्राबाट तयार गरिएको दाउरा बिक्रीका लागि राजगढ ल्याउँदै गर्दा दाउरासहित पक्राउ गरेको मनकामना सामुदायिक वन राजगढले जनाएको छ । पक्राउ परेका सबैलाई कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको इप्रका राजगढले जनाएको छ ।

केही दिनयता दक्षिण क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रबाट खुलेआम काठको चोरी तस्करी हुने गरेको जनगुनासो बढेपछि जिल्ला वन कार्यालयसहितको प्रहरी टोलीले मनकामना सामुदायिक वन समूहको अगुवाइमा वन गस्तीलाई तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: