झापाबारे केपी ओली र कृष्ण सिटौला कठोर

kp krishnaकाठमाण्डौ । प्रमुख चार दलबीच ८ प्रदेशको सीमांकनबारे भएको छलफल झापामा पुगेर अड्किएको छ । संविधानको प्रारम्भीक मस्यौदामा राय सुझाव संकलनका क्रममा पनि जनताले प्रदेशहरुको सीमांकन गर्न सुझाव दिएका थिए ।

कांग्रेस, एमाले, एमाओवादीसहितका सभासदहरु पनि सीमांकनकै पक्षमा छन् भने मधेस केन्द्रीत केही दलले सीमांकन विनाको संविधान स्वीकार नगर्ने भन्दै आन्दोलन गरिरहेका छन् । संविधानको मस्यौदामा थपघट गर्ने अधिकारसहित गठित उच्चस्तरीय समितिमा प्रदेशहरुको सीमांकनबारे छलफल सुरु भएको छ ।

‘प्रदेशहरुको सीमांकनविना अन्य कुराको खासै अर्थ नहुने भएकाले छलफल सुरु भएको छ’ एक नेताले भने । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली सीमांकन गरेर जान सकारात्मक भएपछि नै छलफल अघि बढेको हो । तर, सीमांकन निकै गाह्रो भएको उनले बताए । केही नेताको अडानका कारण झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा सहमति हुन सकेको छैन । एक नेताले भने–मोरङ र सुनसरीका साथीहरु केही लचिलो हुनुहुन्छ ।

तर, झापाबारे केपी ओली र कृष्ण सिटौला एकदमै कठोर हुनुुहुन्छ ।’ ओली र सिटौलाले झापा, मोरङ र सुनसरी पूर्वी पहाडमा बन्ने प्रदेशमा हुनु पर्ने अडान लिएका छन् । मधेस केन्द्र्रीत दलहरुले भने तीन जिल्लालाई मधेसमा बन्ने प्रदेशमा राख्न माग गर्दै आएका छन् ।

एमाओवादीले आसपासका जिल्ला मिलाएर आठौं प्रदेश बनाउने विकल्प दिएको छ । कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशमा केही मिलाउने र झापा, मोरङ र सुनसरीमा आसपासका क्षेत्र मिलाएर आठौं प्रदेश बनाउने उसको प्रस्ताव छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले झापा, मोरङ सुनसरीमा सिरहा, सप्तरी, उपयपुर थपेर छुट्टै प्रदेश बनाउन सकिने सार्वजनिक गरेका छन् । नेताहरुका अनुसार शीर्ष नेताहरुको बैठकमा अन्य विषयमा पनि छलफल भइरहेको छ । तर, ११ बटा एजेण्डा मध्ये कुनैमा पनि सहमति भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्: