मनपरि नेपालसँगको सीमाना तोक्यो भारतले

घोराही । पूर्वमा कपिलबस्तुदेखि पश्चिममा बाँकेको सीमानासम्म दाङ खण्डमा पर्ने ७७ वटा सीमा स्तम्भहरुमध्ये अधिकांश जीर्ण भएका छन् । दाङ प्रहरीले तीन दिन पैदल यात्रा गरी अवलोकन गर्दा ६७ सीमा स्तम्भ जीर्ण भएको पाइएको हो ।

सीमा स्तम्भ नम्बर रुखमा
सीमास्तम्भ जिर्ण भएपनि त्यसको मर्मत सम्भारका लागि दुबै देशले ध्यान दिएका छैनन् । केही सीमा स्तम्भ खोलाले बगाएका छन् भने केही भत्किएर नचिनिने अबस्थामा छन् । सीमा स्तम्भ भत्कँदै जान थालेपछि भारतीय पक्षले आफूखुसी सीमा क्षेत्र तोकेको छ । भारतीय सुरक्षाकर्मीले रुखहरुमा सीमा स्तम्भको नम्बर लेखेको पाइएको छ ।

सीमा सुरक्षाबल सीमाना भन्दा ३३ किलोमिटर टाढा
दाङ जिल्ला भित्र ८३ किलोमिटर क्षेत्रमा नेपाल–भारत सीमा पर्दछ । नेपाल–भारत सीमामा गोबरडिहा, कोईलाबास, बेला र राजपुर गाविसका ६ वटा वडा भारतसँग जोडिएका छन् । ति सीमा क्षेत्रमा २६ वटा नाका छन् । नाकामा अहिले नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । भैसाही, डगमारा, खांग्रा, सिरीया, कोइलाबास र मुसीनाकामा नेपाल प्रहरी सीमा र नागरिकको सुरक्षाका लागि खटिएका छन् । सीमा सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल सीमादेखि ३३ किलोमिटर टाढा पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमहीको अर्जुनखोलामा छ । भारतीय सीमा सुरक्षा बल एसएसबीले २–३ किलोमिटरको दुरीमा एउटा सीमा सुरक्षा पोष्ट राखेको छ । तर नेपाली सीमा सुरक्षा बल भने ८३ किलोमिटर भित्र एउटा कोईलाबासमा छ ।

Nepal-India-Border
सशस्त्र पोष्ट स्थापनाको तयारी

दाङ प्रहरी प्रमुख कुबेर कडायत नेपाल–भारत नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई निर्देशन दिँदै सीमा सुरक्षा कार्यालय अर्जुनखोलाका प्रमुख एसपी रामाधार यादवले नाका क्षेत्रमा तीन वटा सशस्त्र पोष्ट स्थापना गर्न भनि केन्द्रमा माग गरिएको बताए । यसैबीच दाङका प्रहरी प्रमुख कुबेर कडायतले सीमा क्षेत्रको तीन दिन पैदल यात्रा गरी स्थलगत निरीक्षण गरेका छन् । निरिक्षणका क्रममा प्रहरीहरुलाई सीमा तथा सीमाबासीको सुरक्षामा खट्न र भारतीयसँग पनि सम्बन्ध सुमधुर बनाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: