रेडपाण्डा संरक्षणमा जुटे स्थानीय

red pandaखोटाङ । जिल्लाको फेदी गाविसस्थित विभिन्न वनमा पाइने रेडपाण्डा संरक्षणमा स्थानीय जुटेका छन् । फेदी गाविसको बगाले सामुदायिक वन, चिलिम लाहुरे पोखरी सामुदायिक वन, फुङगालुङ सामुदायिक वन र छिमालुङ सामुदायिक वनमा भएको रेडपाण्डा संरक्षणमा स्थानीय जुटेका हुन् ।

चिलिम लाहुरे पोखरी सामुदायिक वनका अध्यक्ष अरुण राईका अनुसार संरक्षणपछि रेडपाण्डाको संख्या छ सयको हाराहारीमा पुगेको छ । यद्यपि दक्ष जनशक्तिको अभावमा गणना भने हुन नसकेको राईले बताए ।

स्थानीय किरात साम्पाङ भाषामा कुँदो भनेर चिनिने रेडपाण्डा पाँच–छ वर्षअघि मात्र चिनिएको र यो दुर्लभ भन्ने थाहा भएपछि सामुदायिक वनले संरक्षण सुरु गरेको स्थानीय रुपचन्द्र राईले बताए ।

दुर्लभ रेडपाण्डा चिउरीडाँडा गाविसको सिस्नेहर्कटे सामुदायिक वन, निर्मलीडाँडाको गोपिनी सामुदायिक वन र पाथेकाको कोप्चेभालुखोप सामुदायिक वन क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गलमा पनि भेटिएको स्थानीयले बताएका छन् ।

झट्ट हेर्दा कुकुरजस्तै देखिने, जङ्गलमा प्राय एक्लै हिडडुल गर्ने, रातो शरीर र सेतो मुख भएको रेडपाण्डा मालिङ्गो पाइएको स्थानीय ज्ञानकुमार राईले बताए । रेडपाण्डा गणना र पर्यटन विकासका लागि सम्वन्धित निकायको चासो नगएको फेदीका वीरकाजी राईले गुनासो पोखे ।

जिल्लाको विभिन्न लेकाली जङ्गलमा रेडपाण्डा फेला परे पनि यसबारे कसैले चासो भने दिएका छैनन् । जिल्ला वन कार्यालयका निमित्त प्रमुख मोहन आचार्यले रेडपाण्डा संरक्षणबारे वन कार्यालयको कुनै कार्यक्रम नभएको बताए । ‘रेडपाण्डा छ भन्ने कुरा सुनिएको छ ।’

आचार्यले भने–‘तर त्यस्तो कुनै कार्यक्रम राखिएको छैन ।’ जिल्लाको नीतिगत योजनामा पनि रेडपाण्डाको बारेमा कार्यक्रम नराखिएको स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बताए ।

रेडपाण्डाको बारेमा कसैले पनि जिल्ला परिसदमा कुरा नउठाएकाले नीति रूपमा पारित गर्न नसकिएको सापकोटाले जनाए । ‘कतैबाट पनि कुरा आएन ।’ सापकोटाले भने, ‘रेडपाण्डा छ भन्ने आएको भए यसले पनि खोटाङको विकासमा टेवा पुग्ने कार्यक्रम बनाइन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्: