बाबुरामसँग सहकार्य गर्न प्रदीप गिरी र रामेश्वर खनाल सहमत

Naya-Shakti-1काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व अर्थसचिव रामेश्वर खनाल, र नेपाली कांग्रेस नेता प्रदीप गिरीसहितको भेलाले नयाँ शक्ति निर्माणको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

भट्टराई नयाँ शक्ति निर्माण अभियानका संयोजक समेत हुन र, उनकै पहलमा भेला भएको थियो । भेलामा उज्वल थापासहितको विवेकशील नेपालीको समूह पनि सहभागी थियो ।

राजधानीको एक होटलमा भएको भेलाले मुलुकमा नयाँ शक्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
जनजाति नेता पासाङ शेर्पा र नायक सरोज खनाल लगायत पनि यो अभियानमा छन् ।

चार बुँदे सहमति
उनीहरुले भट्टराईसँग सहकार्य गर्न चार बुँदे सहमति पनि गरेको भट्टराईको निजी सचिवालयले विज्ञप्ति मार्फत् जानकारी दिएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग सहभागिताका लागि उनीहरुले सामूहिक आग्रह गरेका छन् ।

पूर्वअर्थसचिव खनालले आफूहरु मुलुकमा नयाँ शक्ति आवश्यक पर्छ भन्ने निष्कर्षमा पुगेको बताए । तर, आफू भने सक्रियरुपमा सहभागी नहुने उनले बताए ।

सहमतिका बुँदा यस्ता छन
१. वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा हामी सहमत छौं ।
२. वैकल्पिक राजनीतिक विचार राख्नेहरुको बीचमा सहकार्य र सहयोगको आवश्यकता छ भन्ने कुरामा हामी सहमत भएका छौं । वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा हामीले जोड दिन्छौं ।

३. वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचार सहितको राजनीति, देशको विकास र समृद्धि हो भन्ने कुरामा हामी सहमत छौं ।
४. वैकल्पिक राजनीतिक शक्ति निर्माणका निम्ति सबै शक्ति, व्यक्ति र आम जनतासँग यो प्रक्रियामा सहभागिताका निम्ति हामी हार्दिक आग्रह गर्दछौं ।

नयाँ शक्ति निर्माण अभियानका लागि डा. भट्टराईसँग छलफल गरी चार बुँदे सहमति गर्नेहरुमा कांग्रेसका सांसदसमेत रहेका गिरी, पूर्वसचिव खनालसहित १९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्: