छोराछोरी पढाउन आमाहरुले अङ्ग्रेजी सिक्न थाले

imagesचितवन । घरमा छोराछोरी पढाउन र मोबाइल तथा इन्टरनेट प्रयोग गर्न भन्दै चितवनको खैरहनीका आमाहरु अङ्ग्रेजी शिक्षा लिन थालेका छन्।

स्कुलमा पढ्ने आफ्ना बालबालिकालाई अङ्ग्रेजी पढाउन र विदेशमा रहेका आफन्तलाई कुनै सन्देश पठाउनका लागि भन्दै उनीहरु अङ्ग्रेजी शिक्षा लिन थालेका हुन् । यहाँका ६० जना गृहिणी अहिले एकमहिने कक्षामा सहभागी भएका छन्।

महिला सशक्तीकरण र व्यक्तित्व विकास गर्नु अर्काे लक्ष्य रहेको उनीहरुले बताएका छन् । एटिट्युड मल्टी लर्निङ एकाडेमीले उनीहरुलाई एकमहिने अङ्ग्रेजी भाषा प्रशिक्षण दिन थालेको हो । उक्त एकाडेमीका सञ्चालक दिनेश परियारले गृहिणीले नै माग गरेपछि अङ्ग्रेजी शिक्षा दिन थालेको बताए।

बुधबारदेखि सुरु गरिएको कक्षा एक महिनासम्म चल्ने र सो अवसरमा महिलालाई सामान्य भए पनि अङ्ग्रेजी शिक्षा सिकाइने उनको भनाइ छ । विदेशमा रहेका आफन्तसँग इन्टरनेटमा सन्देश पठाउन र बालबालिकालाई घरमा पढाउनका लागि शिक्षा लिन थालिएको हो । अहिले नेपाली युवा धेरै विदेशमा रहेकाले गृहिणीलाई परिवारसँग कुरा गर्न र मोबाइल प्रयोग गर्नका लागि पनि अङ्ग्रेजी शिक्षा आवश्यक भइरहेको छ ।

पूर्वसांसद लालमणि चौधरीले कुनै पनि शिक्षा मानिसको जीवनका लागि उपयोगी हुने भन्दै शिक्षा लिन हिचकिचाउनु नहुनेमा जोड दिनुभयो । उहाँले सीप र शिक्षाको विकासले मात्रै देशको विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए।

प्रतिक्रिया दिनुहोस्: