बेलायतले भन्यो– नयाँ संविधान नेपालको राजनैतिक प्रक्रियामा कोशेढुंगा

timthumb (2)लन्डन ।  संयुक्त अधिराज्य बेलायतले हालै जारी गरेको नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको जनाएको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको दुई शताब्दी पुगेका अवसरमा बेलायतमा आयोजित विशेष समारोहमा भाग लिन पुगेका उपप्रधानमन्त्री कमल थापासँग भेटघाटका क्रममा बेलायती विदेशमन्त्री फिलिप हम्मोन्डले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको उल्लेख गरेका हुन्।

उनले नेपाल–भारत सीमामा देखिएको आपूर्तिको समस्याप्रति चासो राख्दै शीघ्र समस्या समाधान हुने आशा पनि व्यक्त गरे। उनले बेलायती गोर्खा सैनिकका बारेमा संसदीय समितिको प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकारका तर्फबाट सम्भव भएसम्मका प्रयत्न गरिने वचन दिए।

नेपाल बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सय वर्ष पुरा भएको अवसरमा लन्डनस्थित बेलायतको विदेश मन्त्रालयमा एक समारोहको आयोजना गरेर मनाईएको छ। बेलायत सरकारको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारको तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा सहभागी भएका छन्।

कार्यक्रममा बेलायत सरकारका विदेश राज्य मन्त्री ह्युगो स्वायर, बेलायतका अन्तर्रा्ष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायन लगायत बेलायती कुटनैतिक वृत्तका उच्च पदस्थ अधिकारीहरु तथा नेपाल सम्बन्धि जानकारहरुको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले १८१५ को सुघौली सन्धि पछी औपचारिक रुपमा शुरु भएको नेपाल बेलायत सम्बन्ध ईतिहासको कालखण्डमा अझै मजवुत बन्दै गएको बताए।

नेपालको विकासमा बेलायत सहयोगी साझेदार बनेको बताउँदै उनले यसका लागि नेपाल र नेपाली जनताको तर्फबाट आभार व्यक्त गरे ।
मन्त्री थापाले गोर्खा सैनिकहरू दुई देशको सम्बन्धमा सेतुको भूमिका खेलेको भन्दै यो अवसरले उनीहरुको चासोलाई समेत सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

भूकम्पको समयमा बेलायतको सहयोगको सराहना गर्दै परराष्ट्र मन्त्री थापाले पुनर्निर्माणको चुनौतीमा थप सहयोगको अपेक्षा रहेको बताए। “नेपालमा संबिधान सभा मार्फत समावेशी र प्रजातान्त्रिक संबिधान जारी भएको वर्तमान परिप्रेक्षमा प्रजातन्त्रको जननी भनेर चिनिने देश बेलायत संगको सम्बन्धले पनि नयाँ उचाई लिनेमा मलाई विश्वास छ”, थापाले भने।

कार्यक्रममा बेलायती विदेश राज्य मन्त्री ह्युगो स्वायरले नेपाल बेलायत ऐतिहासिक सम्बन्ध र नेपाललाई बेलायतले र्पुयाउँदै आएको सहयोगको चर्चा गरे। गत अप्रिलको महाभूकम्पमा बेलायती सहयोगको स्मरण गर्दै नेपालको संसदबाट भर्खरै पारित पुनर्निर्माण बिधेयकले राष्ट्र पुनर्निर्माणको गतिलाई छरितो बनाउने विश्वास व्यक्त गरे।

साथै उनले नेपालको नयाँ संविधान नेपालको राजनैतिक प्रक्रियामा कोशेढुंगा साबित हुने बताए। “ चुनौती हरु बाँकी छन, आपसी संवाद र समझदारी मार्फत नाकावन्दी बाट उत्पन्न मानवीय समस्या र नेपाली जनताको चासोलाई सम्बोधन हुनेगरी समाधान निस्किनेमा हामीलाई विश्वास छ’, उनले भने । बेलायत नेपालमा आइपर्ने जुनसुकै सहयोगको लागि सधैजस्तो जहिले पनि तत्पर रहेको कुरा समेत उनले आफ्नो मन्तव्यमा व्यक्त गरेका थिए ।

कार्यक्रममा बेलायतका अन्तर्रा्ष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनले भूकम्प लगायतका बिपत्तिमा बेलायती सहयोगको चर्चा गरेका थिए । बेलायतमा बस्ने ८० हजार भन्दा बढी नेपाली र वर्षेनी नेपाल भ्रमणमा जाने ३० हजार भन्दा बढी पर्यटकले पनि दुई देश बिचको घनिष्टता थपेको उनले बताए । “ बेलायत नेपालको सबै भन्दा ठूलो दुई देशीय अनुदान कर्ताको रुपमा नेपालको बिकासमा काँधमा काँध मिलाएर हिड्न तयार छ’, स्वायानले भने ।

कार्यक्रममा बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री, गैर आवासीय नेपाली संघ, बेलायतका अगुवाहरु , बेलायतका बिभिन्न शहरमा बस्ने नेपाली समाजसेवी, पत्रकार, बुद्दिजीवी तथा संघ संस्थाका प्रतिनिधि हरु लगायत करीव तीन सय जनाको उपस्थिति थियो।

कार्यक्रम शुरु हुनु अगाडि समारोह स्थल बाहिर झन्डै एक दर्जनको सख्यामा रहेका केही आदिवासी जनजाती एवम् मधेशवादी संगठनका प्रतिनिधिहरुले मधेश आन्दोलनको दमन र नेपालको संबिधान समावेशी नभएको भन्दै विरोध प्रदर्शन समेत गरेका थिए।

बेलायतको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री कमल थापाले उपरोक्त कार्यक्रम पूर्व बेलायतका परराष्ट्र मन्त्रि फिलिप हामोंड, राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्रा्ष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनसंग पनि बेग्लाबेग्लै द्विपक्षीय सम्बन्धको बारेमा भेट वार्ता गरेका थिए।

भेटमा थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल, स्वकीय सचिव भरतकुमार रेग्मी, लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्: