कस्तो बन्ला एमाओवादीको संगठन ?

download (7)काठमाण्डौ । एकीकृत नेकपा माओवादीले संघीय संरचना अनुसार पार्टीको आन्तरिक संरचना पनि फेरबदल गर्दैछ । जारी केन्द्रीय समिति बैठकबाट सांगठनिक संरचना तय गर्दै र नेताहरुलाई जिम्मेवारी दिन लागेको हो ।

एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले मंगलबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय समिति बैठक नेताहरुलाई आवश्यक जिम्मेवारी दिँदै सम्पन्न हुनेछ ।

‘नयाँ संविधानअनुसार मुलुक सात प्रदेशको संरचनामा गएपछि पार्टीको आन्तरिक संरचना पनि सोहीअनुसार बदल्न लागिएको हो,’ प्रवक्ता शर्माले भने, ‘आज (मंगलबार)को बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव पास गर्ने र नेताहरुको कार्य्विभाजन गर्ने एजेण्डा छ ।’

एमाओवादीले केन्द्रीय समितिका साथै सातवटै प्रदेशमा प्रादेशिक समिति पनि बनाउने छ । यस्तै जिल्ला, नगर, गाउँ, वडा र सेल कमिटीसम्म पनि बन्नेछन् । विगतमा राज्य समितिको ढाँचामा रहेको कमिटीलाई अब प्रादेशिक कमिटीमा बदल्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गरेका छन् । प्रादेशिक कमिटीको नेतृत्व पदाधिकारी, स्थायी समिति, पोलिटव्युरोसम्मका सदस्यहरुले गर्नेछन् ।

१ नम्बर प्रदेशको नेतृत्व गोपाल किरातीले गर्ने चर्चा छ । किराती पार्टी स्थायी समिति सदस्य हुन् । यदि पोलिटव्युरो सदस्यले नेतृत्व गर्ने अवस्था आए किरातीको सट्टा राम कार्कीको सम्भावना बढी रहेको स्रोतले बतायो ।

२ नम्बर प्रदेशमा विश्वनाथ साह वा उर्मिला अर्यालको नाम चर्चामा छ । अर्याल एमालेबाट एमाओवादीमा प्रवेश गरेकी हुन् । उनलाई पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन ।

३ नम्बर प्रदेशमा सचिव वर्षमान पुन र स्थायी समिति सदस्य लोकेन्द्र विष्टको नाम चर्चामा छ । पुन जण्डिस बिग्रिएकाले थाइल्याण्डमा उपचाररत छन् । विष्टले भने नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डलाई राजीनामा पत्र बुझाएर काभ्रेमा धान खेतीमा लागेका थिए । जारी केन्द्रीय समिति बैठकमा फर्किएका विष्टले पुनः राजनीतिमा सक्रिय हुने बताएका छन् ।

३ नम्बर प्रदेशको नेतृत्वमा पुन र विष्टका साथै लिलामणि पोख्रेलको नाममा पनि छलफल चलिरहेको स्रोतले बतायो ।
४ नम्बर प्रदेशमा हितराज पाण्डे र प्रवक्ता दिनानाथ शर्मा, ५ नम्बर प्रदेशमा पूर्व डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल ‘बलदेव’, ६ नम्बर प्रदेशमा जनार्दन शर्मा प्रभाकर र ७ नम्बर प्रदेशको नेतृत्व लेखराज भट्टलाई दिनेबारे केन्द्रीय समिति बैठकमा छलफल चलेको छ ।

‘कुन–कुन नेतालाई कुन प्रदेशको जिम्मेवारी दिने भनेर सामान्य छलफल चलिरहेको छ, तर निर्णय भैसकेको छैन,’ स्थायी समिति सदस्य प्रभाकरले भने । मंगलबारको केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्न नसके पदाधिकारीलाई जिम्मा दिनसक्ने उनले जानकारी दिए ।

रिक्त पदमा पूर्ति नहुने
एकीकृत नेकपा माओवादीले डा. बाबुराम भट्टराइ पक्षले पार्टी छाडेकाले रिक्त रहेका पदहरु भने तत्काल पूर्ति नगर्ने स्रोतले बतायो । आगामी जेठसम्म ६ महिने कार्ययोजनासहित पार्टी पुनर्निर्माण अभियान सन्चालन गरिसकेपछि मात्रै रिक्त पदमा पूर्ति गर्ने तयारी भैरहेको छ ।

एमाओवादीले जिल्ला समितिलाई भने अहिले विद्यमान कमिटीलाई यथावत राख्ने बुझिएको छ । समानान्तर समिति भएको र कुनै विवाद आएमा सम्मेलन आयोजक समिति बनाएर तत्कालको समस्या समाधान गर्ने तयारी एमाओवादीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: