हिउँदमै बेहाल बिर्तामोड

phor-copy-435x300पुष्प बराल /बिर्तामोड । बिर्तामोडमा विभिन्न संघ–संस्थाका चुनाव भइरहन्छन् । संविधानसभाका दुईवटै चुनावमा बिर्तामोडको ढल निकासको कुरा नउठेको होइन । राजनीतिक दलका कार्यकर्तादेखि व्यापारीसम्मले चुनावताका नारा बनाएको ढल निकासको कुरा चुनावलगत्तै जाममा पर्ने गर्छ ।

दर्जन बढी स्थानमा सडकमै ढल बग्नुले बिर्तामोडको दृश्य छर्लङ्ग पार्छ । सम्बन्धित निकायले चासो नदेखाउँदा यो समस्या आएको स्थानीय बताउँछन् । ‘एउटाले बनाउँछु भन्दा अर्कोले विरोध गर्छ,’ बिर्तामोडका व्यवसायी राजेश मित्तल भन्छन्, ‘विकास गर्ने कुरामा इमान्दार को पो छ र यहाँ ?’

विगत एक वर्षदेखि बिर्तामोडको भद्रपुर रोडमा ढल जाम भई सडकमै फोहोर पानी बगिरहेता पनि त्यसलाई सम्बन्धित निकायले देखेको छैन । नाक थुनेर पैदलयात्री हिँढ्न बाध्य छन् । जनसंसदकर्मीसँग कुरा गर्दै बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोलाले भने, ‘सडक डिभिजन कार्यालयले गर्नुपर्ने काम हो हामीले केही गर्न सक्दैनौँ ।’ उता सडक डिभिजन कार्यालय दमकका सहायक प्रमुख गोविन्दराज त्रिपाठीले भने, ‘नगरपालिकाले गर्नुपर्ने काम हो, किन गरेन हामीलाई थाहा भएन ।’

एकअर्काको टाउकोमा समस्या थुपार्दा बिर्तामोड बजार महिनौँदेखि दुर्गन्धित बनिरहेको छ । भद्रपुर रोडका व्यवसायी राजकुमार श्रेष्ठ भन्छन्, ‘६ महिनादेखि निरन्तर नगरपालिकालाई खबर गर्दासमेत हाम्रो सुनुवाई भएन ।’ बिर्तामोड बजार आसपासमा गरिएका प्लटिङमा गहिरा खाल्डा खनेर फोहोर व्यवस्थापन गरिए पनि समस्या समाधान हुन सकेको छैन । बाध्यताले प्लटिङमा फोहोर थुपार्नु परेको नगरपालिकाका एक कर्मचारी बताउँछन् । हाल बिर्तामोडबाट दैनिक ५ टन फोहोरमैला निस्कँदै आएको छ । तर, अधिकांश फोहोर डम्पिङ साइट अभावमा यत्रतत्र फाल्ने गरिएको छ ।

लामा–लामा पसल कवल र ठूल्ठूला मार्केटहरुको थलो बनेको बिर्तामोडले एउटा सार्वजनिक शौचालय भने बनाएन । बिर्तामोडबासीले दशकौंदेखि सार्वजनिक शौचालयको माग गरे तापनि शौचालय अभावमा सर्वसाधारणले सास्ती बेहोर्नु परिहेको छ । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र भए पनि विगत लामो समयदेखि शौचालय निर्माणमा कोही पनि संवेदनशील देखिएका छैनन् ।

उद्योग वाणिज्य संघ बिर्तामोडले बिर्तामोड नगरपालिकालाई एउटा घुम्ती शौचालय प्रदान त गर्यो । तर, त्यो एक वर्षदेखि खोलाकै डिलमा ठडिएको छ । वाणिज्य संघ बिर्तामोडले आठ लाख रुपैयाँमा खरीद गरेको घुम्ती शौचालय ‘नाम मात्रको घुम्ती’ बनेको छ ।

‘एकैठाउँ राखिरहने हो भने केको घुम्ती शौचालय ?’ घुम्ती शौचालयको नजिकै फलफुल पसल गर्ने एक व्यवसायी भन्छन्, ‘खोलाको डिलमा राखिरहनुको पनि कारण छ, तपाइले पनि बुझ्नुभएकैहोला ।’ शौचालयमा जम्मा भएको मलमूत्र साँझका बेला खोलामै बगाउने गरिएको छ ।

यतिमात्र होइन, मेची अञ्चलकै सुन्दर र व्यस्त अनि व्यवस्थित मानिएको बिर्तामोड बसपार्कको हालत उस्तै छ । टेकबहादुर गिरी बसपार्कका नामले चिनिएको बसपार्कको प्रवेश मार्ग नैजीर्ण छ । जीर्ण प्रवेशमार्गका कारण सवारी साधन सञ्चालनमा कठिनाई छ । लामो समयदेखि मर्मतसमेत नहुँदा स्थानीय व्यवसायीलाई धुलोका कारण व्यवसाय चलाउन समस्या भएको छ ।

बसपार्क व्यवस्थापन समितिको बेवास्ताका कारण प्रवेश मार्गमा ठूला ठूला खाल्डा परेपछि यो मार्ग भएर सवारी चलाउने चालकहरु समस्यामा पर्ने गरेका छन् । आजको जनसंसद दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: