यस्तो रहस्य छ राजेन्द्र महतो काठमाडौं फर्किनुको

rajendra-mahatoकाठमाण्डौ । चार महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलन वार्ता र संवादबाटै हल गर्ने भन्दै आन्दोलन मोर्चा सहमति नजिक पुगिसक्दासमेत दिल्लीबाटै विज्ञप्ति जारी गरेर आन्दोलन नरोक्ने उद्घघोष गरेका सद्भावना अध्यक्ष राजेन्द्र महतो अन्ततः संवादमा फर्किएका छन् ।

सीमांकनमा असन्तुष्टी जनाउँदै नयाँ संंविधान जारी हुनु अघिदेखि नै मधेसवादी दलहरु आन्दोलनमा उत्रिएका थिए । मोर्चाले आन्दोलन थालेकै झण्डै आधाआधी वर्ष हुन लागिसक्यो ।

खासगरी सीमांकनमा असन्तुष्टी जनाएको मोर्चाले वार्ता र संवादबाट निकास निकाल्न भन्दै ११ बुँदे माग सरकारसँग प्रस्तुत गर्यो । मोर्चाले राखेको माग वार्ताबाट नै हल गर्ने भन्दै प्रमुख विपक्षी दलसमेत सत्तारुढ दलसँग एकाकार गर्दै अघि बढेपछि मोर्चा पनि संवादबाटै निकास निकाल्न तत्पर देखियो ।

आफूहरुको माग पूरा नभएसम्म सरकारको कार्यदलमै नआउने अडान लिएको मोर्चा कार्यदलमै आएर समग्र विषयमा छलफल गर्न राजी भए पनि मोर्चाको एक घटक राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी पछिल्लो पटक सरकारसँगको वार्ता नै बहिष्कार तथा कार्यदलमै नबस्ने भन्दै बाहिरियो ।

विराटनगर जोगबनी नाकामा प्रहरीसँगको झडपमा महतो घाइते भएपछि सोही विषयलाई लिएर असन्तुष्ट सद्भावना पार्टीका अध्यक्ष महतो मधेस आन्दोलन अब निर्णायक हुने भन्दै सबै दलका मधेसवादी सांसदहरुलाई पार्टी छाडेर आन्दोलनमा समाहित हुन अपिल मात्रै गरेनन् उपचारका लागि दिल्ली गएका उनले मेदान्त अस्पतालको शैयाबाटै एकल आन्दोलनको घोषणा गरेका थिए ।

महतोको अडानलाई बेवास्ता गर्दै मोर्चाकै अन्य घटकहरुले कार्यदलमै सहभागी भएर संवाद जारी राखेपछि मोर्चा नै विभाजित भएको आंकलन गरियो । तर महतोको एकल आन्दोलनलाई न त सहयात्री दलहरुले साथ दिए, न त मधेसी जनताले नै । आफूले कुटाइ खाएको विषयमा सरकारले माफी माग्नुपर्ने अडान लिएका महतो आफूलाई मधेसी जनताले नै नपत्याएपछि दिल्लीबाट काठमाडौं फर्किने अवसरको खोजीमा रहे ।

आफूलाई बाहिरै राखेर भए पनि मोर्चाका अन्य मधेसी दलहरुले सहमति गर्ने सम्भावना बढ्दै गइरहेका बेला प्रधानमन्त्री केपी ओलीले नै टेलिफोन गरी काठमाडौं फर्किन आग्रह गरेपछि पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई आफू काठमाडौं फर्किनुअघि नै कार्यदलको बैठकमा पठाइदिए । आफ्नो पार्टीलाई समेत कार्यदलका सहभागी गराएका महतो आइतबार नै काठमाडौं आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्: