रंगेलीमा मधेसी मोर्चाको प्रदर्शन

Rangeli-Pradarshanविराटनगर । संविधानको प्रचारका लागि युवासंघले आयोजना गरेको कार्यक्रमलाई विफल बनाउन मोरङको रंगेलीमा मधेसी मोर्चाका कार्यकर्ताले बन्द आह्वान गरेका छन् ।

मोर्चाका कार्यकर्ता सडकमा भेला भएर बन्द गराउँदै हिँदेका छन् भने युवा संघका कार्यकर्ता पनि कार्यक्रम सफल बनाउने अभियानमा लागेकाले दुई पक्ष सडकमा आमन्ने सामन्ने हुने अवस्था देखिएको छ ।

युवा संघका मोरङ अध्यक्ष मुकेश बुढाथोकीले आफ्नो निर्धा्रित कार्यक्रम जसरी पनि सञ्चालन गर्ने भन्दै मोर्चाको बन्द हड्तालले कुनै असर नगर्ने बताए ।

यता संघीय समाजवादी फोरम नेपालकी मोरङ अध्यक्ष राजकुमारी यादवले आफूहरुले पहिल्यै निर्धारण गरेको कार्यक्रम भएकाले आज विशाल सभा हुने भन्दै कार्यक्रम सञ्चालन गरिने बताइन् । मोर्चाले प्रधानमन्त्री लगायतका शीर्ष नेता मोरङ आउने भनेपछि बुधबार र बिहीबार हड्तालसहित विशाल सभा गर्ने कार्यक्रम तय गरेको थियो ।

युवासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनिएपनि अन्तिम समयमा आएर प्रधानमन्त्री कार्यक्रमका लागि रंगेली नजाने भएका छन् । यद्यपी एमालेका शीर्ष नेताहरु कार्यक्रममा सहभागी हुनेछन् ।

मोर्चा र युवा संघका नेता कार्यकर्ता आमन्ने सामन्ने हुने अवस्था आएपछि रंगेलीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण बुधबार पनि दिनभर रंगेली तनावग्रस्थ बनेको थियो । बुधबार मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: