आचरण विपरीत काम गर्ने ३१ प्रहरीलाई कारबाही

Taplejung-policeताप्लेजुङ । आचरण विपरीत कार्य गरेको भन्दै एक वर्षको अबधिमा ताप्लेजुङमा कार्यरत ३१ प्रहरी कारबाहीमा परेका छन् । गत वर्षको पुस महिनादेखि हाल सम्म कारबाहीमा परेको प्रहरीको संख्या ३१ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकमा उल्लेख छ ।
कारबाहीमा परेका मध्ये पाँच जना प्रहरी कर्मचारी सेवाबाट बर्खास्त भएका छन् भने अन्य २६ जना विभागीय कारवाहिमा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

आचरण विपरीत काम गरेको पुष्टि भए पछि प्रहरी हवल्दार श्याम थापा तथा जवानहरु धनबहादुर राई, सम्पत यादब, मनोज शाह र विक्रम तामाङ सेवाबाट बर्खास्त भएका हुन् । यस्तै विभागीय कारबाहीमा पर्नेहरुमा एक जना प्रहरी निरीक्षकसहित एक जना प्रहरी नायव निरीक्षक, चार जना प्रहरी सहायक निरीक्षक दर्जाका र बाँकी २० जना प्रहरी जवान रहेका छन् ।

गत वर्षको पुस अन्तिम साता ताप्लेजुङको प्रहरी प्रमुख भएर आएका प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालाले प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउन प्रहरी शुद्धिकरण अभियान नै चलाएका छन् । यसै अभियानमा जिल्लामानै पहिलो पटक यतिको ठुलो संख्यामा प्रहरी कारवाहिमा परेका हुन् ।

प्रहरी आफै आचरणमा प्रतिबद्ध नहुने हो भने अरुलाई सही ठाउँमा ल्याउन नसकिने भन्दै प्रहरी नायव उपरीक्षक कोईरालाले जिल्लामा आउनसाथ प्रहरी भित्रको आन्तरीक सुद्धिकरण अभियान चलाएका थिए । ताप्लेजुङमा तीनसय ९६ जना प्रहरीको दरबन्दी रहेको छ भने १० प्रतिशत संख्या कम रहेको छ ।

कोईरालाको एक वर्षे कार्यकालमा कारबाही मात्र नभई जिम्मेवारी प्रति प्रतिबद्ध भई असल कार्य गर्ने धेरै प्रहरी कर्मचारीसमेत पुरस्कृत पनि भएका थिए । प्रहरी नायव उपरीक्षक कोईराला भने भखरै ताप्लेजुङबाट सरुवा भएका छन् भने ताप्लेजुङमा रामबहादुर केसी प्रहरी प्रमुख भएर आएका छन् ।

प्रतिक्रिया दिनुहोस्: