यसरी भएको रंगेली रणसंग्राम (अपडेटसहित)

timthumbरंगेली । तराईमा चलेको पाँच महिना लामो आन्दोलन दौरान मोरङको रंगेली कहिल्यै अशान्त भएन। तराई केन्द्रीत दलको दबदबा रहेको रंगेली बिहीबार विहानैदेखि जसरी तनावमय बन्दै थियो, त्यसले अप्रिय घटनाको सुचना दिँदैथ्यो। माघ ५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँगको वार्ता समिति भंग भएको घोषणा भएसँगै रंगेली एकैछिनमा तातियो। बुधबार र बिहीबारका लागि रंगेलीमा आमहडताल गर्ने निर्णय मोर्चाको स्थानीय समितिले निर्णय र्गयो।

मोर्चाको स्थानीय समितिले यो निर्णय गर्नु पछाडि प्रधानमन्त्रीको पार्टी एमाले जोडिएको छ। एमाले भ्रातृ संगठन युवा संघ केन्द्रीय कमिटीले रंगेलीमा ‘तराई मधेस जागरण अभियान’ कार्यक्रम राखेको थियो। त्यसमा प्रधानमन्त्री केपी ओली आउने प्रचार गरिएको थियो।
सत्तापक्षलाई आवागमन र कार्यक्रममा अबरोध र्पुयाउने पूर्व्निर्णयमा मोर्चा यथावत् थियो। त्यसलाई असफल पार्ने रणनीतिमा मोर्चा थियो। बुधबार बेलुकासम्म पनि मोर्चाले त्यहाँ कार्यक्रम नराख्न सञ्चारमाध्यम र मौखिक रुपमा बारम्बार आग्रह गरिरहेकै थियो । तर युवा संघ र एमालेले आफ्नो निर्णय पुनर्विचार गर्न तयार नभएपछि बुधबार बेलुकै मोर्चा कार्यकर्ताले कार्यक्रमस्थललाई निशाना बनाउन खोजेका थिए ।

त्यसक्रममा प्रहरीसँग झडप भयो, चारजना मोर्चासम्बद्ध कार्यकर्ता सामान्य घाइते भए। ‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि हामी आक्रोशित भएका हौं, यहाँका जनता धेरै नै अशान्त बन्दैथिए,’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव भन्छन्– ‘एकातिर वार्तासमिति भंग भएको स्थितिमा अर्को्तिर प्रधानमन्त्रीसहित नेता कार्यकर्ता आएर यहाँ कार्यक्रम गर्ने भनेपछि स्वाभाविक रुपमा आक्रोश बढेको हो।’

बिहीबार ११ बज्दा हामी रंगेली पुगेका थियौं। रंगेली इलाका प्रहरी कार्यालय पूर्व एमालेले गर्ने कार्यक्रमको मञ्चवरिपरि करिब ५० जना युथ फोर्सका कार्यकर्ता देखिन्थे। थानाउत्तरको दुई सय मिटर भाग प्रहरीले ओगटेको थियो।

त्यहाँ प्रहरी र मोर्चा कार्यकर्ता आमनेसामने थिए। मोर्चा कार्यकर्ताले प्रदर्शन गरिरहेका थिए। हातहातमा बाँसका लाठी थिए, कसैले भाला पनि बोकेका थिए। झन्डै दुई घन्टा प्रहरी–प्रदर्शनकारीको त्यो आमनेसामने हामीले हेरिरह्यौं।

त्यसपछि एमालेको कार्यक्रमस्थल फर्कियौं। मञ्च वरिपरि एमाले कार्यकर्ताको उपस्थिति बाक्लिँदो थियो। मञ्चमा एमाले महासचिव ईश्वर पोखरेल प्रमुख अतिथि बनेर बसेका थिए। साथमा शंकर पोखरेल, सत्यनारायण मण्डल, महेश बस्नेत, राजीव पहारी, निरु पाल लगायत थिए। जुन कार्यक्रमको अध्यक्षता युवा संघका नेता पर्शुराम बस्नेतले गरेका थिए।

मञ्चमा एउटा सांगीतिक गीत प्रस्तुत गर्दै गर्दा एकाएक गोली चलेको आवाज सुनियो। गोली चलेको स्थान मञ्चबाट दुई सय मिटर पश्चिम रंगेली अस्पताल छेऊछाऊ थियो।

एकछिन गोली चलिरह्यो, झन्डै चालिस राउण्ड फायर भइसकेको आवाज सुनिएपछि वातावरण अशान्त बन्न थाल्यो।

उता मोर्चाले कार्यक्रमस्थल बनाएको कालीमन्दिरछेऊ पनि गोली चलिरहेको थियो। त्यही घटनामा रंगेली–४ की ५८ वर्षीया द्रौपतीदेवी चौधरी घटनास्थलमै मारिएकी थिइन्। पाहुना लाग्न आएकी राप्रपा नेपालकी कार्यकर्ता चौधरीलाई एमाले र मोर्चाको कार्यक्रम र आन्दोलनसँग कुनै सरोकार थिएन।

घटनास्थलमा खटिएका प्रहरीका अनुसार एमाले मञ्चको पश्चिमबाट तीन सयबढी प्रदर्शनकारी आइरहेका थिए। उनीहरू कोहीको साथमा लाठी, कसैको साथमा भाला, कसैको साथमा खुकुरी, तरबार, ग्याटिस थिए। आन्दोलनकारी एकैसाथ अघि बढ्न खोजेपछि प्रहरीले त्यहाँ गोली चलाएको थियो। कति राउण्ड कुन हतियारबाट गोली चल्यो प्रहरीले खुलाएको छैन, तर घटनास्थलमा एसएलआर राइफलबाट चलेको गोली फेला परेको छ।

उक्त घटनामा जनार्दन साह, वीरेन मण्डल, मुना मण्डल, सत्यनारयण साह, महादेव ऋषिदेव घाइते भएका थिए। महादेवको केही समयपछि गोल्डेन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थिति अशान्त बनेको बुझेपछि एमालेले कार्यक्रम छोट्यायो। शंकर पोखरेल, ईश्वर पोखरेलले छोटो मन्तव्य दिए। केहीबेरमै एमाले नेता कार्यकर्ता तितरवितर भए। मोर्चा कार्यकर्ता पनि तितरवितर भइसकेका थिए। रंगेली केही शान्त बनिसक्दा त्यहाँबाट चार किलोमिटर टाढा डायनियाँ बजार अशान्त बनिहाल्यो। त्यहाँ आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा अर्का एक जनाको मृत्यु भएको छ।

तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष मोहमद कादिरका अनुसार मृत्यु हुनेमा डायनियाँ गाविस ९ का २० वर्षीय शिवु माझी छन्। उक्त घटनामा गोली लागेका विक्रम सहनीको अवस्था चिन्ताजनक छ। एमालेको कार्यक्रम हुनु अघिदेखि नै त्यो बाटो हुँदै एमाले नेता कार्यकर्तालाई आवतजावतमा मोर्चाले रोक लगाएको थियो।

‘मधेसको माग सम्बोधन नगर्ने अनि मधेसमै किन कार्यक्रम सफल पार्न दिने भनेर हामीले आमहताल आह्वान गरेका थियौं,’ अध्यक्ष यादवले भने, ‘तर एमालेलाई यो कुराले छोएन, यो सबै घटनाको जिम्मेवारी एमालेले लिनुपर्छ।’

सुरक्षाको दृष्टिले संवेदनशील बनिसकेको उक्त स्थानमा कार्यक्रम गर्न नहुनेतर्फ सत्तापक्षकै पार्टीले पनि सुझाइसकेको थियो। रंगेलीमा के गर्ने विषयमा बुधबार मोरङ जिल्ला प्रशासनमा छलफल थियो। छलफलमा मोर्चाका नेता कार्यकर्ता, नेपाली कांग्रेस, एमाले, एमाओवादीसहितको सहभागिता थियो। उक्त छलफलमा एमालेबाहेक सबै पार्टीले त्यहाँ कार्यक्रम गर्न उचित नभएको निष्कर्ष निकालेका थिए।

‘हामीले कार्यक्रम नगर्नुस् भनेर भन्यौं, प्रमुख जिल्ला अधिकारीले पनि त्यसै भन्नुभएको थियो,’ एमाओवादी जिल्ला अध्यक्ष गोपी अछामीले भने, ‘सबैले नगर्नू भनेको कार्यक्रम एमालेलाई नगरी भएन।’

तर एमाले मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले भने कार्यक्रम गर्न नदिने भन्नु अलोकतान्त्रिक प्रवृत्ति रहेको बताए। ‘हामीले मधेसका जनतासँग संवाद गर्न चाहेका हौं, उहाँहरूलाई पनि निम्तो दिएका थियौं,’ उनले भने, ‘शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्दा बाटो छेक्ने, अबरोध गर्ने काम भयो, हाम्रा कार्यकर्ता चढेको गाडी जलाइएको छ, यो लोकतान्त्रिक विधि हैन।’

प्रधानमन्त्री नै आउने प्रचार गरिएकाले त्यस स्थानमा सुरक्षाको तैनाथी बढाउनु प्रशासनका लागि बाध्यता थियो। तथापि प्रधानमन्त्री नआएकै खण्डमा पनि स्थिति तनावग्रस्त बन्न पुगेको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, एसपी तारिणी प्रसाद लम्साल, सशस्त्र प्रहरी उपरीक्षकसहितको ठूलो संख्यामा प्रहरी परिचालित थियो। ‘फरक–फरक स्थानमा कार्यक्रम सम्पन्न हुन् भनेर हामीले मध्य भागलाई नियन्त्रणमा लिएका थियौं,’ प्रहरी उपरीक्षक लम्सालले भने, ‘तर आन्दोलनकारीको भीड सिधै मञ्चतिर सोझिएपछि हस्तक्षेप गर्नुपरेको हो।’

रंगेली र डायनियाँमा तीन जनाको मृत्यु हुने गरी घटना भएपछि उक्त क्षेत्र तनावमय बनेको छ। विराटनगरका विभिन्न स्थानमा पनि प्रदर्शन भएको छ। कटहरी, कर्सिया, नयाँबजार लगायत क्षेत्रमा मोर्चाले प्रदर्शन थालेको छ।

प्रतिक्रिया दिनुहोस्: