मौरीसँग खेल्ने मान्छे

mahuri-2नुवाकोट । मान्छेको अनुहारभरी नै हजारौँ मौरी झुम्मिएर एकसाथ भुनभुनाइरहेका छन्, हेर्दा लाग्छ यो नै मौरीको गुँड हो । दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कम्ती अप्ठेरो हुँदैन । तर अनुहारभरी मौरीले ढाक्दा पनि यी व्यक्ति मज्जाले हाँसिरहेका छन् ।

अनुहार नै मौरीको घार जस्तो भैसक्दा पनि उनी झनै उत्साहित छन्, डराएका छैनन् । देख्नेजति जो कसैलाई आश्चर्यचकित बनाउने कलामा पोख्त र साहसिक व्यक्ति हुन् धादिङ जिल्लासँगको उत्तरी सिमानासँगै जोडिएको नुवाकोट सामरी गाविसका ध्रुवप्रसाद सापकोटा । सामरी–४ टक्सारका यी ४४ बर्षे किसानले मौरीबाट कलात्मक दाह्री बनाएर साहसिक प्रतिभा देखाउँछन् ।
मौरीलाई प्राणिहरुमध्येको परिश्रमी अनि मेहनती प्राणि पनि मानिन्छ । आफूलाई सामान्य खतरा भएको थाहा पाउनासाथ टोकिहाल्ने माहुरीलाई दारीझैँ बनाएर अनुहारभरि राख्ने कला चानचुने मात्र छैन, जोखिम पनि उत्तिकै छ । तर, अनुहारमा माहुरीको पोको झुण्ड्याउने कला जानेको सापकोटाले धेरै भइसक्यो । पछिल्लो सात बर्षदेखि माहुरी पालन व्यवसायमा लागेको सापकोटाले एउटा सिङ्गो घारमा रहेको २०÷२५हजार माहुरीलाई अनुहार भरि राख्न सक्छन् ।
अनुहारभरि माहुरीको दारी बनाउने उनको यो अनौठो दृश्यले कतिपय तर्सिएर भाग्न पनि सक्छन् । उनी भने मौरीदेखि नडराउन आग्रह गर्छन् र भन्छन्, ‘मौरीले टोक्ने र कसैको हानी गर्ने काम गर्दैनन् । उसलाई आफूमाथी कुनै खतरा भएमा मात्रै प्रतिकारस्वरुप टोक्ने हो । साथी बनाउने हो भने यिनीहरु जत्तिको असल अनि मिलनसार मित्र अरु कोही हुनै नसक्ने सापकोटाको कथन छ ।
मौरीसँगको उनको यो वर्षौदेखिको मित्रता र आत्मियताको लामै अनुभव सुनाउँछन्, ‘तर, मौरीलाई आफ्नो बनाउन उसको मनोभावनालाई बुझ्नुपर्छ ।’
जंगलको किरा माहुरीलाई पनि मनाएर राख्न सक्यो भने आफ्नो हितैषी बनाउन र त्यसबाट आम्दानी लिन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न नै माहुरीको दारी बनाएर प्रदर्शन गर्ने गरेको किसान सापकोटाको भनाई छ । ‘माहुरीलाई आफूमा लीन गराउनको लागि माहुरीसंगको राम्रो सम्बन्धको विकास गर्नुपर्छ’ किसान सापकोटाले भने ‘रानी माहुरीलाई आफूमा राख्ने कला जाने पछि अरु माहुरी पनि आउने गर्छ ।’
घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला भूसंरक्षण कार्यालयले तालिम दिए पछि व्यवसायिक रुपमा कम्मर कसेर लागेका सापकोटाले अहिले मह उत्पादन मात्र नभई माहुरी उत्पादन गरी घारसहित विक्री गर्दै आएका छन् ।
नियमित ४० घार माहुरी पाल्दै आएका उनले अन्य किसानको माग अनुसार माहुरी उत्पादन गरी बेच्दै आएका छन् ।

माहुरी पालनबाट उनले बार्षिक तीन देखि चार लाख रुपैयासम्म आम्दानी गर्दै आएका छन् । सामरी मौरी पालन किसान समूहका अध्यक्ष समेत रहेका सापकोटाले माहुरी उत्पादन गरी धादिङ र रसुवाका किसानहरुलाई समेत विक्री गर्दै आएका छन् । पहिले पसल र कुटानी पिसानी मिल सञ्चालन गरेका सापकोटा अहिले अरु सबै व्यावसाय छाडेर घरमै बसेर माहुरी पालनमा व्यस्त छन् । उनले पाल्ने गरेको माहुरी सेरेना जातको हो ।

उनले उत्पादन गरेको माहुरीको मह प्रतिलिटर ८ सय रुपैयामा गाउमै विक्री हुदै आएको छ । ‘बजारको लागि कुनै समस्या छैन । अहिलेसम्म घरबाट नै विक्री भईरहेको छ’ उनले भने ।

सातबर्ष अघि तालिमको क्रममा एकघार माहुरी पाएका सापकोटाले आफ्नै परिश्रमले यो सफलता हात पारेका हुन् । तालिम र कामको अनुभवकै भरमा उनी अहिले माहुरी पालनको गतिला प्रशिक्षक समेत भईसकेका छन् । विभिन्न स्थानमा तालिम दिईसकेको उनी भन्छन् ‘माहुरीको लागि नुवाकोट जिल्ला राम्रो संभावना भएको जिल्ला हो । तर, यसमा लाग्ने किसान थोरै छन् ।
राज्यले पनि पनि मौरीपालनदेखि व्यवसायिक कृषिमा थुप्रै बजेट र कार्यक्रम ल्याउने गरेको भएपनि आफूहरुजस्ता काम गरेर देखाउने व्यवसायी र कृषकहरुसम्म नपुगेको उनी बताउँछन् । ‘यसमा पनि नाम मात्रका कृषकहरु र पहुँचवालाको हातमा मात्रै पुगेको छ ।’ यसमा राज्यले विषेश ध्यान दिनुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्: