आयरल्याण्डको जितसँगै नेपाल यू–१९ विश्वकपको क्वाटरफाइनल नजिक

jit nepal
काठमाण्डौं । यू–१९ विश्वकप क्रिकेटमा नेपालले सन्दिप लामिछानेको हृयाट्रिकको मदतमा आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हासिल गरेको छ ।
लगातार दोस्रो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारत न्यूजिल्याण्डलाई हराए नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ ।आयरल्याण्डले नेपालसामू १ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे । तर, योगेन्द्र सिंह कार्कीले नेपालको पारी सम्हाले । उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए ।

तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले हृयाट्रिकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: