कांग्रेस महाधिवेशनः ६२ नगर समितिमा चुनावमा कोइराला र देउवा पक्षका ३१–३१ सभापति विजयी

timthumbकाठमाण्डौ । नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत विभिन्न ११ जिल्लाका ६२ वटा नगर समितिको चुनावमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका ३१–३१ जना नगर समितिको सभापतिमा विजयी भएका छन्।

बुधबार संकलन गरेको तथ्यांक अनुसार, काठमाडौं उपत्यकाभित्र रहेका तीन जिल्लासहित मोरङ, चितवन, कास्की, दाङ, बाँके, सुर्खेत, कैलाली र कन्चनपुरका ६२ नगरपालिकामा भएको नगर समिति सभापतिको निर्वाचनमा कोइराला र देउवापक्षका बराबरी संख्यामा नगरसमितिको नेतृत्व लिन सफल भएका छन्।

काठमाडौं महानगरपालिकासहित ११ वटा नगरपालिका रहेको काठमाडौंको क्षेत्र नम्बर २ मा पर्ने कागेश्वरी मनोहरा नगरपालिका बाहेक बाँकी ९ वटै नगर सभापतिमा कोइराला पक्षले कब्जा जमाएको छ। गाउँ विकास समिति बिहीन काठमाडौं जिल्लामा पर्ने मुलुककै एकमात्र महानगरपालिकाको वडास्तरीय नेतृत्व चयन भएपनि महानगरपालिका समितिको चयन भएको छैन। विधानको अस्पष्टतासँगै झण्डै १० हजार हाराहारीमा क्रियाशील सदस्यता कारण महानगरपालिका समितिको गठन हुने गरेको छैन।

उपत्यकाभित्रकै भक्तपुर जिल्लाका ६ नगरपालिका मध्ये अनन्तलिंगेश्वर नगरपालिका बाहेक अरु ५ नगरपालिका सभापतिमा देउवा पक्षले विजय हासिल गरेको छ। भक्तपुर उपमहानगर पालिका, मध्यपुर ठिमी, सूर्य्विनायक, नगरकोट र चाँगुनारायण नगरपालिकामा देउवा समर्थकहरु नगर समिति सभापति निर्वा्चित भएका छन्।

ललितपुर उपमहानगरपालिका सहित ५ नगरपालिका रहेको ललितपुरका तीन नगरपालिका (बज्रबाराही, गोदवरी र कार्य्विनायक नगरपालिकामा) देउवा पक्ष र ललितपुर उपमहानगरपालिका र महालक्ष्मी नगरपालिकामा कोइराला पक्ष भनेपनि महामन्त्री प्रकाशमान सिंह पक्षधरले सभापतिमा विजय हासिल गरेका छन्।

ललितपुर उपमहानगरपालिकाको सभापति बाहेक अन्य पदाधिकारी र सदस्यमा देउवा पक्षले जित हासिल गरेको छ। विराटनगर उपमहानगरपालिकासहित ८ नगरपालिका रहेको मोरङ जिल्लाका उपमहानगरपालिका सहित ५ वटामा कोइराला पक्षले नगर समितिमा विजय भएका छन् भने ३ वटा नगरपालिका (लेटाङ भोगटेली, सन्दुरदुलारी र पथरी सनिश्चरे नगरपालिका)को सभापतिमा देउवा पक्षका उम्मेदवार नेतृत्वमा स्थापित भएका छन्।

त्यसैगरी ८ वटा नगरपालिका रहेको चितवनको चित्रबन नगरपालिका बाहेक सबै नगरपालिकामा कोइराला पक्षधर उम्मेदवारले नगर समिति सभापतिमा विजय हासिल गरेका छन्।

कांग्रेस नेता खुमबहादुर खड्काको गृहजिल्ला दाङका चारवटै नगरपालिकामा खड्का निकट नेताहरुले नगर समितिमा सफलता पाएका छन्। दुबै मृगौलाले काम नगर्ने भएपछि भारतको नयाँ दिल्लीस्थित अस्पतालमा मृगौला प्रत्यारोपण गरी हालै नेपाल फर्किएका खड्का र वरिष्ठ नेता देउवा निकट जिल्लास्तरी नेता कार्यकर्ता दाङको स्थानीय अधिवेशनमा सहकार्य गरी अघि बढेकाले त्यी चारवटा नगरसभापति देउवा निकट मानिएका छन्।

कास्कीको पोखरा उपमहानगरपालिकामा देउवा समर्थक र लेखनाथ नगरपालिकामा कोइराला पक्षका नेताहरु समिति सभापति बनेका छन्। पार्टी सभापति कोइरालाको गृहजिल्ला बाँकेका दुबै नगरसमिति सभापतिमा कोइराला पक्षले नेतृत्व लिन सफल भएको छ भने सुर्खेतका तीन मध्ये दुई नगरपालिकामा देउवा र एकमा कोइराला पक्षका उम्मेदवार नगरसभापतिमा निर्वा्चित भएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका सहित ६ नगरपालिकामध्ये भजनी र चुल्हालम्की नगरपालिका बाहेक उपमहानगरपालिकासहित चारवटै नगरपालिका (टिकापुर, अतरिया र घोडाघोडी नगरपालिका)मा देउवा पक्षले नगरसभापतिमा सफलता पाएको छ। त्यसैगरी कन्चनपुरका ८ नगरपालिकामध्ये एउटा नगरपालिका मात्रै कोइरालाको पक्षमा गएको छ भने बाँकी ७ वटामा देउवा पक्षको नेतृत्व स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस्: