यसकारण कुनै चामत्कारिक हुँदैन ओलीको भारत भ्रमण

oli-3काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो साताका लागि तय भएको भारत भ्रमणले निकै चर्चा पाएको छ ।

वैशाखमा गएको विनाशकारी भूकम्प लगत्तै छिमेकी मुलुक भारतले नेपालको नयाँ संविधानप्रतिको असन्तुष्टी जनाउँदै लादेको चार महिना नाकाबन्दीपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भएपछि भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भारतप्रति नै आम नेपालीको असन्तोष बढिरहेका बेला राष्ट्रवादको कवच लगाइएका प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई महत्वका साथ हेरिनु स्वभाविक हो । राष्ट्रिय स्वाभिमानका सामु कसैसँग नझुक्ने भन्दै प्रधानमन्त्रीको सपथसँगै भारतप्रति धारे हात लगाएका ओली अहिले भारतसँग नै सम्बन्ध विस्तार गर्ने भन्दै भारत भ्रमणमा जाने तयारीमा रहेका छन् ।

मधेस आन्दोलनसँगै भारतले लगाएको अघोषित नाकाबन्दीले गर्दा पछिल्लो समय आन्दोलनरत मधेसी दलहरुबाहेक अधिकांश नेपाली भारतप्रति रुष्ट छन् । भारतको हेपाहा प्रवृत्तिको विरोध स्वरुप भारतसँगै ब्यापारिक सम्झौताहरुसमेत तोड्न विकल्प खोज्न समेत नेपाली नागरिकले सरकारलाई सुझाव दिएका थिए ।

आफू कुनै पनि विदेशी शक्ति सामु नझुक्ने भन्दै भारतको विकल्प खोज्ने भाषण छाँटेका प्रधानमन्त्री ओलीको भारत भ्रमण कस्तो चमत्कारिक बन्ला आम कौतुहलताको विषय बनेको छ ।

भारतले गरेको नाकाबन्दीका कारण अन्तर्रा्ष्ट्रिय समुदायमा नै भारतप्रति नकारात्मक सन्देश त गएकै त भारतमै सदनभित्र विपक्षी दलहरुले भारतीय संस्थापन पक्षको कडा आलोचना गरेपछि भारत पनि अन्ततः नेपालसँगको सम्बन्धलाई विगार्न नहुने निश्कर्षमा पुगेको हो । त्यसैले ओलीलाई भारत भ्रमणको निम्तो दिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातो कार्पेट विछ्याएका छन् ।

प्रधानमन्त्री ओलीलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न आतुर देखिएका मोदीले ओलीको नाडी छाम्ने प्रयास गरे । ओलीले पनि अन्ततः भारतको निगाहमा मात्रै आफ्नो सरकार टिक्ने बुझेर मोदीको निम्तो मान्न आतुर देखिनुलाई ओलीको ‘खोक्रो राष्ट्रवाद’ भन्ने मधेसी दलहरुको आरोप सत्य सावित भइसकेको छ ।

केही दिनमै भारत भ्रमणमा जाने सबै तयारी पूरा गरेका प्रधानमन्त्री ओलीको राजकीय भ्रमण यसअर्थमा मात्रै चामत्कारिक बन्छ, जब उनले विगतका भारतले गरेका असमान सन्धी सम्झौताहरु खारेज गर्नुपर्ने सर्त अघि सार्नेछन् । तर प्रधानमन्त्री ओलीले केवल आफू प्रधानमन्त्री भएदेखि विग्रिएका सम्बन्धलाई सुधार प्रयास हुने बताइसकेका कारण पनि ओलीले असमान सन्धि सम्झौताबारे कुरा उठाउनेसमेत सामथ्र्य राख्ने छैनन् ।

ओली एमालेको तर्फबाट चौथो प्रधानमन्त्री हुन् । एमालेको पहिलो प्रधानमन्त्री मनमोहन अधिकारी थिए भने दोस्रो झलनाथ र तेस्रो माधव नेपाल हुन् । झलनाथ प्रधानमन्त्री हुँदा भारतले कुनै महत्व नदिँदा भारत जाने मौका मात्र गुमाएनन् उनको सरकार पनि धेरै समय टिक्न सकेन ।

मनमोहन अधिकारी प्रधानमन्त्री भएर वि.स २०५१ मा भारत भ्रमणमा जाँदा सन् १९५० को मैत्री सन्धि समिक्षा गर्ने कुरा उठाएका थिए । तर उनको राष्ट्रवाद पनि धेरै दिन टिक्न सकेन । त्यतिबेलै अधिकारीले बंगालका मुख्यमन्त्री ज्योति बशुको हप्काइसँगै दार्जि्लिङ बंगालको अभिन्न अंग भएको अभिब्यक्ति दिएका थिए ।

अहिले भारतप्रतिको आम नेपालीकै दृष्टिकोण राम्रो नभएको बेला प्रधानमन्त्री ओलीले भारत भ्रमण गरी साँच्चिकै नेपालीको मन जित्ने कुनै चामत्कारिक काम गर्न सक्दैनन् । ओलीको भारत भ्रमणले मात्र ऊ खुशी हुदैन, जबसम्म ओलीले भारतको ‘इन्ट्रेष्ट’मा ओलीको हस्ताक्षर हुँदैन । त्यसैले ओलीको भारत भ्रमण केबल ओलीले कुनै बेला भनेको बयलगाडा चढेर अमेरिका नपुगिने कथन सिवाय केही हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्: