धरहरा आमनागरिकको सहयोगबाट पुनर्निर्माण हुने

download (3)काठमाण्डौ । भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आम नागरिकहरुको सहयोगबाट पुनर्निर्माण हुने भएको छ। यसका लागि सरकारले मंगलवार ’मेरो धरहराः म बनाउँछु’ अभियान सुरुवात गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

वैशाख १२ को भूकम्पले ढलेर बाँकी रहेको धरहराको ठूटो छेउमा उभिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले ’ऐतिहासिक धरोहर पुननिर्माण संकल्प’ अन्तर्गत ’मेरो धरहरास् म बनाउँछु’ अभियानमा मुलुक भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गरे।

प्रभावशाली मन्त्रीहरू र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सुन्धारा पुगेका प्रधानमन्त्री ओलीले भने,’धरहरा सरकार वा अन्य निकायले बनाउने होइन, यो मैले बनाउने हो। सम्पूर्ण नेपालीले बनाउने हो।’

मन्त्रिपरिषद्को बैठकले धरहरा पुनर्निर्माण अभियानको औपचारिक निर्णय गर्दै सहयोग गर्न सम्पूर्ण नागरिकहरुलाई अपिल गरेको छ। सरकारमा प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार धरहरा निर्माण अभियानमा सबै मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमबाटै आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: