म्यानपावर व्यवसायीले व्यवसाय बन्द गरेर आफ्नै खुट्टामा बन्चरो हाने : श्रम मन्त्रालय

shreemकाठमाण्डौं । सरकारले कुनैपनि हालतमा फ्री भिसा र टिकटको कामदारमैत्री निर्णय फिर्ता नलिने अडान लिएको छ । निशुल्क भिसा र टिकटमा कामदार विदेश पठाउन गरिएको व्यवस्था उल्ट्याउन म्यानपवर व्यवसायीहरु फागुन २३ गतेदेखि व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । तर, सरकारले अब पुरानो निर्णयमा पुनर्बिचार गर्न नसकिने बताएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले व्यवसायीले व्यवसाय बन्द गरेर आफ्नै खुट्टामा बन्चरो हानेको टिप्पणी गरेको छ । यो आन्दोलनले उल्टै व्यवसायीलाई हानी गर्ने भन्दै यसलाई मन्त्रालयले आत्मघाति भनेको छ ।
श्रम सचिव बिष्णु सापकोटाले कुनै दबावका आधारमा कामदारलाई लाभ हुने गरी भएको निर्णय उल्टिन नसक्ने बताए । नेपाली युवालाई ऋणको भारी बोकाएर काम गर्न अर्काको देशमा जानुपर्ने गरी निर्णय उल्ट्याउन तयार हुन नसकिने उनको भनाइ छ ।

‘अब ब्यवसायीको आन्दोलनबारे संसदीय समितिले नै चासो देखाएको छ । यो हामीभन्दा माथि गइसकेको विषय हो’ सचिव सापकोटाले भने–‘व्यवसायीको मागबारे सरकारको तर्फबाट सबै जानकारी समितिमा गराइसकिएको छ ।’
लोकप्रिय बनेको फ्री भिसा र टिकटको निर्णय विरुद्ध सिधै आन्दोलन गर्न नचाहेका व्यवसयीले श्रम गन्तब्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौताको एजेण्डा उठाएका छन् ।
प्रमुख श्रम गन्तब्य मुलुकसँग यस्तो सम्झौता नभएससम्म म्यानपावर नखोल्ने उनीहरुले चेतावनी छ । व्यवसायीले उठाएको श्रम सम्झौताको एजेण्डामा अहिलेसम्म भएका प्रगतिबारे संसदीय समितिलाई जानकारी दिइसकेको सचिव सापकोटाले बताए ।
सरकारले लेबनान, जोर्डन, साउदी अरेयिबा र कतारसँग केही समयमै समझौता हुन लागेको बताएको छ । मलेसियासँग भने तत्काल श्रम समझौता हुने अवस्था देखिएको छैन ।
‘श्रम सम्झौताका अड्किएका फाइल मैले हेरिरहेको छु’ दुई हप्ताअघि मात्रै श्रम सचिवको जिम्मेवारी पाएका सापकोटाले भने ‘सरकारले गर्नसक्ने जति सबै काम गर्छ । व्यवसायीले पनि सरकारलाई साथ दिनुर्पयो ।’
उनले व्यवसायीले आफ्नो रोजिरोटीको माध्यम बन्द गरेर आन्दोलन गर्दैमा समस्याको हल नहुने बताए । प्रहरीले ठगी गर्ने म्यानपावरविरुद्ध कारवाही गरेको बाहनामा आन्दोलन झिकेका व्यवसायीले नयाँ डिमान्ड ल्याउने, पूर्व श्रम स्वीकृति गराउने लगायतका काम ठप्प पारेका छन् ।
संस्थागत रुपमा विदेश पठाउन बन्द हुँदा दैनिक विदेश जाने १२ सय कामदार प्रभावित भएका छन् । तर, भिसा आएका कामदारलाई व्यवसायीले नरोकेको सरकारको दावी छ ।

प्रतिक्रिया दिनुहोस्: