संसदीय दलको चुनावमा पनि सिटौलाको बेग्लै रणनीति

krishnaकाठमाण्डौं । महाधिवेशन सकिएलगत्तै नेपाली कांग्रेस संसदीय दलको चुनावमा केन्द्रित भएको छ । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह संसदीय दलको नेता आफ्नो पक्षमा पार्ने दौडमा लागिसकेका छन् ।
महाधिवेशनबाट पार्टीको सत्ता हत्याएका देउवा संसदीय दलको नेता पनि अरुलाई छाड्ने मुडमा छैनन् । देउवा समूहमा उनको नाममा कुनै विवाद पनि छैन । संसदीय दलको नेता मात्रै भावि प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने प्रावधान कांग्रेसमा भएकाले पनि देउवा यो पदमा आफैंलाई देख्न चाहन्छन् ।
पौडेल समूहबाट भने सभापतिको चुनावमा जस्तै संसदीय दलको चुनावमा पनि आकांक्षीहरुको भीड देखिएको छ । यो समूहबाट पौडेलसँगै प्रकाशमान सिंह, रामशरण महत आकांक्षी देखिएका छन् भने केहीले डा. शेखर कोइरालालाई संसदीय दलको नेताको उम्मेदवार बनाउनु पर्नेमा जोड दिएका छन् ।
सभापति पदमा तत्कालिन संस्थापन समूहको बागी उम्मेदवार बनेका कृष्ण सिटौला संसदीय दलको चुनावमा पनि आफ्नो प्रभाव देखाउन चाहन्छन् ।
पार्टीमा आफूलाई छुट्टै शक्तिका रुपमा स्थापित गराउन पनि उनले संसदीय दलको चुनावमा चलखेल गर्नु आवश्यक ठानेका हुन् । यसका लागि उनको समूह आन्तरिक गृहकार्यमा जुटिसकेको छ ।
हालै मात्र सिटौलाले आफ्ना निकटवर्तीहरुलाई बोलाएर दलको चुनावमा कस्तो भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । सिटौला निकट नेता शिव हुमागाईँले भने, ‘हामी अहिले छलफलमै छौं । कुनै निर्णयमा पुगिसकेको छैनौं सिटौला गगन थापाको समूह अहिले धेरैभन्दा धेरै सांसद आफ्नो समूहमा ल्याउने प्रयासमा छ ।

यो समूहले आफूहरुसँग १० र १२ सांसद रहेको विश्वास लिएको छ । खासै ठूलो शक्ति नभएकाले सिटौला समूहले संसदीय दलको नेतामा उम्मेदवारी दिने सम्भावना भने निकै कम छ । स्रोतले भन्यो, ‘हामी अहिले समूहलाई स्थापित गर्ने प्रयासमा छौं । त्यसैले आफ्नो पक्षमा रहेका सांसदहरुलाई संगठित गरेर शक्तिसञ्चय गर्न खोजीरहेका छौं ।’
पौडेल समूहबाट छुट्टएिर बनेको हुनाले स्वभाविक रुपमा सिटौलाको झुकाव देउवातिर रहने अनुमान छ । एक नेता भन्छन् ‘अब स्वभाविक रुपमा तागत भएको समूहसँग नजिक भइन्छ । तर, हामी कुनै पदका लागि बार्गे्निङ गर्ने भन्दा आफूलाई स्थापित गर्ने प्रयासमा छौं ।’

प्रतिक्रिया दिनुहोस्: