kechana 1बिर्तामोड । ‘मेची–महाकाली हिमाल पहाड तराई राष्ट्रिय अभियान’ नेपालको सबैभन्दा होचो स्थान झापाका केचना कवलबाट ताप्लेजुङको तिपतला भञ्याङसम्मको यात्रा शुक्रबारबाट सुरु भएको छ ।
नेपाली काँग्रेसका नेता एवम् झापा क्षेत्र नम्वर ३ का सांसद कृष्णप्रसाद सिटौलाले एक समारोह बीच अभियानका अगुवा कृष्ण के.सी.लाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी अभियान आरम्भ भएको घोषणा गरेका हुन् । समुद्र सतहबाट ४२ मिटरको उचाईमा रहेको केचना गाबिसको केचना कवलमा महोत्सवको आयोजना गरि यात्रा आरम्भ गरिएको हो । भारतसँग झापाको केचना नाका र चीनसँग जोडिए ताप्लेजुङको तिपतला भञ्याङको नाका खुलाउँदै सडक निर्माण र पर्यटन प्रवर्धनका लागि अभियान आरम्भ गरिएको अभियन्ताहरुले बताएका छन् ।
अभियानको उद्घाटन समारोहका प्रमुख अतिथि रहेका सिटौलाले सबै मिलेर मात्र देशको बिकास हुने बताए । उनले दलहरुको एकतामा जोड दिए । दलहरु बीच एकता नहरने हो भने संविधान कार्यान्वयनमा समस्या आउने बताए । जसले मिलेर संविधान बनाए, तिनै फुटेर कसरी संविधान कार्यान्वयन हुन्छ ?सिटौलाको प्रश्न थियो । उनले राजनीतिमा स्थायित्व नहुँदा बिकास निर्माण प्रभावित भएको बताए । उनले राष्ट्रिय सरकार बिना प्रदेश र स्थानीय निकायको निर्वाचन संभव नहुने बताए ।
नेता सिटौलाले आफुले सरकार सफल होस भन्ने चाहेको, तर लक्षण त्यस्तो नभएको टिप्पणी गरे । उनले भने ‘काँग्रेसको सरकार आएपनि अवस्था उहि हुन्छ ।’
अभियानका अगुवा तथा एमाओवादीका केन्द्रीय सदस्य कृष्ण केसीले राजनीतिक परिवर्तनको एजेण्डा पुरा भएकाले अव समृद्ध नेपालको एजेण्ड लागू हुनु पर्ने बताए । उनले सबै नेताहरुलाई भारत र चीनसँग जोडिएका दुर्गम नाकाको भ्रमण गर्न आग्रह गरे । उनले मल्ल र राणाले बनाइदिएका दरवारलाई देखाएर मात्र गौरवको गाथा गाएर नहुने बताए । उनले पर्यटन बिकासका लागि सयौँ स्थानको बिकास गर्न सकिने बताए । उनले आफुहरुले सुरु गरेको अभियानले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपले जोड्ने बताए ।
कलाकार नवल खड्काले नेपालको राष्ट्रियताको जगेर्नाका लागि आफुहरुले अभियान सुरु गरेको बताए । उनले बिगतमा बन चिन्न नसक्दा तराई उजाड भएको र आज केचना कवल जस्ता ठाउँको पहिचान गर्न नसक्ने हो भने देशको सम्वृद्धि हुन नसक्ने बताए । उनले राष्ट्रियता बलियो बनाउन नेताहरुलाई आग्रह गरे ।
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य, सांसद मोहन टुडू, अर्का सांसद वाङदी सेर्पाले संविधान कार्यान्वयनका लागि दलहरु बीच एकता आवश्यक रहेकोमा जोड दिए । स्थानीय बिकास अधिकारी खेमराज ओझा, नेकपा एमाले झापा जिल्ला सदस्य यामबहादुर श्रेष्ठ लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा जुडोमा एशियाली प्रतियोगितामा स्वर्ण पदक बिजेता सीता राई र झापा बिद्रोहका अगुवा हर्क खड्कालाई सम्मान गरिएको थियो । अभियान टोली शुक्रबार इलाम बस्ने छ भने शनिबार ताप्लेजुङ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्: