तोकिएको पोशाक नलगाउने ५ सय ४५ जना कर्मचारीलाई सिंहदरबार प्रवेश निषेध !

Singadurbarकाठमाण्डौं । सेवाग्राहीको बढी भिडभाड हुने यातायात व्यवस्था कार्यालय र वैदेशिक रोजगार विभागका ८० प्रतिशत कर्मचारीहरुले तोकिएको पोशाक नलगाउने गरेको पाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको अनुगमनको क्रममा यो तथ्य फेला परेको हो ।
पछिल्ला दुई दिनमा तोकिएको पोशाक नलगाउने करिब ५ सय ४५ जना कर्मचारीहरुलाई सिंहदरबारको प्रवेशद्वारबाटै फर्काइएको छ ।
कर्मचारीहरुले सरकारबाट वार्षिक साढे सात हजार रुपैयाँ पोशाक भत्ता लिने तर नलगाउने गरेपछि सामान्य प्रशासन मन्त्रालयले हालै कार्यालय समय अबधिभर अनिवार्य रुपमा पोशाक लगाउन निर्देशन दिएको थियो । त्यो पनि पालना नभएपछि उपसचिवको नेतृत्वमा अनुगमन टोली खटाएर कर्मचारीहरुले पोशाक लगाए–नलगाएको अनुगमन हुँदै आएको छ ।
मन्त्रालयका अनुसार पछिल्ला दुई दिनमा तोकिएको पोशाक नलगाउने करिब ५ सय ४५ जना कर्मचारीहरुलाई सिंहदरबारको प्रवेशद्वारबाटै फर्काइएको छ । मन्त्रालयले उपसचिवको नेतृत्वमा सिंहदरबारका तीन वटै प्रवेशद्वारमा बिहान साढे ९ बजेदेखि ११ बजेसम्म कर्मचारी खटाउने गरेको छ । पोशाक नलगाउने कर्मचारीहरुलाई कार्यालय प्रवेश गर्न नदिइ फर्काउने गरिएको छ ।
अनुगमनको क्रममा वैदेशिक रोजगार विभाग र यातायात व्यवस्था कार्यालयमा कार्यरत ८० प्रतिशत कर्मचारीले तोकिएको पोशाक नलगाउने गरेको पाइएको सामान्य प्रशासनमन्त्री रेखा शर्माले व्यवस्थापिका–संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा जानकारी दिइन् ।
सेवाग्राहीको भिडभाड हुने कार्यालयमा कतिपय कर्मचारीहरुले तोकिएको पोशाक नलगाउने र बिचौलियाको काम गर्ने गुनासो सुनिएकाले सेवाग्राहीलाई ठगिनबाट जोगाउन पनि तोकिएको पोशाक अनिवार्य गरिएको उनले बताइन् ।
राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीलाई विनाकारण दुःख दिने, काम गरिदिएवापत् घुस लिने जस्ता काम गरेको भए आफूहरुलाई जानकारी गराउन उनले आग्रह गरिन् । सरकारको तलबभत्ता खाने र सेवाको भावनाले काम नगर्ने कर्मचारी कारबाहीको भागीदार हुने उनले चेतावनी दिइन् ।
बैठकमा सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्माले निजामती सेवामा रहेका कर्मचारीलाई जिम्मेवार तथा जवाफदेही बनाउन पोशाक अनुगमन सुरु गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: