ओलीले भारतलाई नेपालमा अनावश्यक चासो नराख्न आग्रह गरे

oliकाठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अनावश्यक चासो नराख्न दक्षिणी छिमेकी भारत र युरोपेली मुलुकहरुलाई चेतावनी दिएका छन् । आफ्नो आन्तरिक मामिला सम्बोधन गर्न नेपाल आफैं सक्षम रहेको उनले बताए ।

बेल्जियमको ब्रसेल्समा भएको युरोपियन युनियन र भारतको सम्मेलनले संविधानलाई दीगो र समावेशी बनाउनका लागि राजनीतिक विषयलाई सम्बोधन गर्न सुझाव दिएका बेला प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।

उत्तरी छिमेकी चीनका राजदूत वु चुन्ताइ समेतको सहभागीतामा बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले नेपाल कसैको सुझावका आधारमा नभइ आफ्नै ढंगले अगाडि बढ्ने स्पष्ट पारे ।

सार्वभौम मुलुकले लोकतान्त्रिक प्रक्रियाबाट बनाएको संविधान चित्त नबुझाएका भारत र युरोपेली मुलुकहरुलाई सर्वसम्मतिबाट बनाइएका संविधान देखाउन उनले चुनौतीसमेत दिए ।
प्रधानमन्त्री ओलीले वहुदलीय प्रजातन्त्रमा राजनीतिक दलहरु विचार र लक्ष्य अनुसार फरक–फरक हुने र ती दलमध्ये कसलाई रोज्ने भन्ने कुरा सार्वभौम जनताको अधिकारको विषय भन्दै यस बारेमा भारत र युरोपेली मुलुकहरु जानकार रहेकामा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्: