1111`बिर्तामोड । अन्तराष्ट्रीय आमन्त्रण रमपम झापा नकआउट गोल्ड कपको उद्घाटन खेल रमपम झापा ११ र भारतको साङली डिस्ट्रिक फूटबल एसोसियसन मुम्बईबीच हुने भएको छ । आजसम्म आमने सामने नभएका दुई टीमबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा सहभागि हुन महाराष्ट्रको ‘ए’ डिभिजन क्लब साङली एकसातादेखि झापामा आएर अभ्यासमा ब्यस्त छ । उसका लागि नयाँ प्रतिद्धन्दी रमपम झापा ११ सँगको भिडन्त रोचक हुने टीमका प्रशिक्षक जुमेर जमदारले प्रि–म्याच कन्फ्रेन्समा बताए । उनले नेपालको चर्चित टीम रमपम झापा ११ को खेललाई नजिकबाट नियाल्ने मौका दिएकोमा झापाका प्रशिक्षक भगिरथ आलेको प्रशंसा गरे ।

पहिलो १० मिनेट झापाको खेल कौशल हेरेपछि आफूले रणनीति बनाउने उनले बताए । साङलीका कप्तान सकिल पट्टेलले चर्चित स्ट्राइकर कर्ण लिम्बुसँगको खेल रोचक हुने बताए । उनले मौषम अनुकुल भएका कारण जित हाँसिल गर्न आफ्नो टीम सफल हुने बिश्वास ब्यक्त गरे ।

झापाका प्रशिक्षक भगिरथ आलेले पनि नयाँ टीम भएका कारण उद्घाटन खेल रोमाञ्चक हुने बताए । उनले आफ्नो टीममा अन्तराष्ट्रीय प्रतियोगिता खेलेका चारजना नयाँ खेलाडी समावेश गरेको जानकारी दिंदै झापा ११ ले जित हाँसिल गर्न सफल हुने बताए । नयाँ टीमसँगको भिडन्तमा आफ्नो क्लबले कमजोर प्रदर्शन नगर्ने भनाइ उनको थियो । उनले खेलको पहिलो हाफमै झापाले गोल गरेर अग्रता लिने योजनामा रहेको बताए ।

प्राविधीक रुपमा झापा आगाडी रहेको दावी गर्दै झापाका कप्तान प्रवेश कटवालले भने ‘दर्शकको समर्थन र घरेलु मैदानको फाइदा झापाले लिनेछ ।’

प्रतियोगिताको उद्घाटन राष्ट्रीय खेलकुद परिषदका सदस्य सचिब केशब बिष्टले गर्नेछन् । प्रतियोगितामा ड्रोन क्यामेराले रेफ्रीले प्रयोग गर्ने सीटी हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्ने तयारी भएको आयोजक समितिका महासचिब गणेश पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: