प्रहरी र सुकुम्बासीबिच झडप, १५ जना घाइते

सर्लाही । सर्लाहीको मुर्तियामा सुकुम्बासी र प्रहरीबिच झडप भएको झडपमा आठ जना प्रहरी र सात जना सुकुम्बासी घाइते भएका छन् ।सागरनाथ वन विकास परियोजनाको जग्गामा सुकुम्बासीले लगाएको मकै फाँड्ने क्रममा झडप भएको हो । अतिक्रमण खाली गर्ने क्रममा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो ।

त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरि परियोजनाको सरकारी जग्गा अतिक्रमण गरेर लगाएको मकै फाँड्ने काम भैरहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । सुकुम्बासीहरुले मकै फाँड्न गएका प्रहरीलाई ढुंगा हानेका थिए । भीड तितरबितर पार्न प्रहरीले केही शेल अश्रु ग्याँस प्रहार गरेको छ ।

मूर्तियामा सागरनाथ वन विकास परियोजनाको २५ सय हेक्टर जमिन अतिक्रमण भैरहेको परियोजनाका प्रमुख ज्ञानेन्द्र मिश्रले जानकारी दिए । उनले अब सबै अतिक्रमण खाली गरेर वृक्षारोपण गरिने बताए । सर्लाहीका जिल्ला वन अधिकृत नरेश ठाकुरले अहिले अतिक्रमण गरेर लगाएको बालीनाली नष्ट गर्ने र बर्खापछि घरटहरा हटाइने बताए ।

सुकुम्बासीले भने जबरजस्ती बल प्रयोग गरेर आफूहरु माथी दमन गरेको गुनासो गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका जिल्ला सहसेक्रेटरी कमल सुसलिङले प्रशासनले सुकुम्बासीमाथि आक्रमण गरेर बालीनाली नष्ट गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: