झापाका औषधि पसलहरु गैरकानुनी

medicineझापा । स्वास्थ्य क्षेत्रमा बेथिति बढेको गुनासो चुलिएपछि झापामा अनुगमन कार्यलाई तीव्रता दिइएको छ ।  औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले भद्रपुर, विर्तामोड, दमक, काँकरभिट्टा, शनिअर्जुन लगायतका स्थानमा सञ्चालित औषधि पसल तथा क्लिनिकको अनुगमन सुरु गरेपछि मात्र स्वास्थ्य क्षेत्रमा विकृति रहेको भेटिन थालेको छ ।

अनुगमन टोलीले मापदण्ड पूरा नगरेका अधिकांश औषधी पसल, क्लिनिक, भिडियो एक्सरे, डेन्टल लगायतको क्लिनिक बन्द गराइएको छ । उनीहरुलाई प्रशासन कार्यालय हाजिर हुनु भन्दै तारिख पनि दिए । केही सञ्चालकलाई अनुगमन टोलीले पक्राउ पनि गरे, केही अवैध पसले सञ्चालक फरार भए ।

यसैक्रममा अनुगमन टोलीले विहीवार झापाको विर्तामोड, शनिअर्जुन, बुधवारे र चारआली लगायत क्षेत्रका औषधी पसल तथा क्लिनिकको अनुगमन गरेको छ । अनुगमन टोलीले विर्तामोडको भद्रपुररोडमा सञ्चालित निताई आयुर्वेदिक उपचार केन्द्र बन्द गराएको छ ।

सो आयुर्वेदिकका एक्सरे सञ्चालक मोहनप्रसाद राजवंशीले मापदण्ड विपरित कक्षा ८ पढने युवक सविनकुमार घिमिरेद्धारा एक्सरे चलाउँदै विरामीलाई सेवादिदै गर्दा भेटाएपछि बन्द गराएको प्रशासन कार्यालय झापाका अधिकृत प्रमोद भट्टराईले बताए । त्यस्तै भद्रपुररोडमै रहेको आयुर्वेदिक उपचार केन्द्रका चिकित्सक अगमलाल राजवंशीलाई विरामी ठगेको आरोपमा पक्राउ गरिएको छ । राजवंशीले औषधी विभाग तथा जनस्वास्थ्य कार्यालयको अनुमति बगेर हात खुट्टा भाँचिएका विरामीलाई पाल्स्टर गरी उपचार गराउँदै गरेको अवस्थामा पक्राउ गरेको अधिकृत भट्टराईले बताए । न्यु हिमालयन एक्सरे पनि बन्द गराइएको छ ।

शनिश्चरेको हाम्रो औषधि पसलमा क्लिनिकमा दर्ता नगरी स्लाइन लगाउने, ल्याब सञ्चालन गरेको भेटिएपछि विभागमा हाजिर हुन भन्दै पसल बन्द गराइएको छ । चारआलीस्थित आयुस फर्मामा म्याद गुज्रिएको औषधि,तथा मनोदिपक औषधिको बिक्रीमा रेकर्ड नराखिएको पाइएपछि पसल बन्द गराइएको जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्: