‘भूकम्पमा जोगिए, पहिरोले खायो’

pahiroझापा । मेघबहादुर तामाङ गत वर्ष नेपालमा विनाशकारी भूकम्प आउँदा साउदी अरबमा ट्याक्सी हाँक्दै थिए । भूकम्प्का बेला पत्नी सीता तामाङ, १३ वर्षीय छोरा आइतराम, ५ वर्षीय आशीष र ८ वर्षीया छोरी विमला नुवाकोटको बुङताङमै थिए ।

‘भूकम्पले घर भत्काएपछि पत्नी र छोराछोरीको बिचल्ली भयो । उनीहरु रुनकराउन थाले अनि म पनि जन्मभूमिमै केही गर्छु भनेर फर्किएँ,’ मेघबहादुरले भने,‘भूकम्पमा जोगिएका छोरालाई पहिरोले खायो । हामी बसेको ठाउँमा पहिरो आउला भन्ने अनुमान नै थिएन । के गर्ने के नगर्ने तनाबमा छु ।’

तीन वर्ष साउदीमा काम गरेर फर्किएका मेघबहादुर गाउँ आएर सिकर्मी भएका थिए । ‘जमिन नै थर्कने गरी कति ठूलो बाढी आएछ । केहीबेरसम्म पनि जमिन थर्कन छोडेन । भूकम्प आएजस्तो लाग्यो,’ असार १५ गते बिहानको घटना सम्झन्छन् मेघबहादुर ।

छिमेकी श्रीमाया तामाङका अनुसार सडकबाट पहिरो झरिसक्दा पनि मेघवहादुरको परिवार उठेन । आठ कक्षमा पढ्दै गरेका आइतराम र एक कक्षामा पढ्दै गरेका आशीष एउटै ओछ्यानमा सुतेका थिए भने मेघबहादुर, सीता र बिमला अर्को ओछ्यानमा ।

जस्ताको टहरोमा सुतिरहेका मेघबहादुरको परिवारलाई पहिरोले छोप्यो । ‘पहिरोले छोपेपछि श्रीमती बेहोस भइहाली । म पनि बेहोसजस्तै भएँ । छोरीले बाबा भनेको आवाज सुने । खोतलेर छोरीलार्ई निकाले तर छोराहरुलाई पुरिसकेको रहेछ । भैसी र बाख्रा त कता हुन् कता ?’ घटना सम्झदै मेघबहादुरले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: