भारतीय चिठ्ठाको कारोबार गर्ने दुई पक्राउ

भद्रपुर । झापाको पूर्वोत्तर नाका भद्रपुर, कांकरभिट्टा लगायतका क्षेत्रमा भारतको बंगाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित चिट्ठामा लत बसेकै कारण सयौं परिवारको बिल्लीबाठ हुन थालेको समाचार सञ्चारमाध्याममा प्रकाशित भएपछि प्रहरीले दुई जना भारतीय चिट्ठा कारोबारीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
सिमा क्षेत्रमा कडाईका साथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले चिट्ठा कारोबारीलाई निगरानी बढाएपछि गत असार ८ गते बुधबार दुई जनालाई चिट्ठाका साथ पक्राउ गरेको भएतापनि सार्वजानिक भने भएको थिएन । प्रहरीले भारतको बंगाल राज्य अन्तरगत मुसिदावाद सालीकट्टा ग्राम पञ्चायतको स्थायी ठेगना भई हाल भारतकै डाँगी जोतमा अस्थाई रुपमा बसी नेपालमा कवाडी संकलन गर्न आउने ६५ वर्षीय तामालचन्द्र घोष र भारतको बिहार राज्य भादगाउँ पञ्चायत घर भई भद्रपुर बजारमा मोटरसाइकल ग्यारेजमा काम गर्ने मो. सम्साद आलम लाई पक्राउ गरेको थियो । शंका लागि खानतलासी गर्दा उनीहरूको साथबाट A84665 देखि 9 सम्मको को ६० सिरिजको ५  बुंग र सामान्य खाले A61250 देखि 59  सम्मका १० बुंग ( सात सय प्रति पन्नाको भारतीय १० रुपैंया)–को नेपालमा प्रतिबन्धित १५ बुंग भारतीय चिट्ठा फेला परेपछि आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको वडा प्रहरी कार्यालयका इनिस्पेक्टर राजन कुमार न्यौपानेले बताएका छन् ।

प्रहरीको निगरानी बढेसँगै भारतबाट खुल्लेआम रुपमा चिट्ठा बिक्री गर्न भारतबाट नेपाल नआए पनि नेपालका चिट्ठामा लत बसिसकेकोहरूको अनुरोधमा लुकाई छिपाई अझै भारतीय चिट्ठा नेपाल भित्रने गरेको थियो । वडा प्रहरी कार्यालयले पक्राउ परेका दुबैजनालाई उनीहरूको साथमा रहेको चिट्ठा सहित जिल्ला प्रहरी कार्यालयमा बुझाएपछि जिल्ला प्रहरी कार्यालयले सोही दिन म्याद थप गरी चिट्ठा ऐन, २०२५ अनुसार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएस्पी हरिप्रसाद शर्माले बताएका छन् । म्याद थप गरेर अनुसन्धान भइरहेकोले अव केहि दिन पछि अदालत पठाइने उनले जनाए ।
चिट्ठा ऐन, २०२५ को दफाः २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । कुनै चिट्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिट्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिट्ठा सम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आपूm साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिट्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिट्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिट्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ । भन्ने चिट्ठा ऐनमा प्रस्ट व्यवस्था छ ।
अझै पनि दैनिक रूपमा झापाको सदरमुकाममा भारतीय चिट्ठा भित्रिरहेको स्थानीयवासीहरू बताउँछन् । मुख्यगरी झापाको सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास बनाएर भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ । भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागू औषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिट्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिट्ठा खेल्ले गरेका छन् । पहिला ५ लाख पर्ने चिट्ठा, १० लाख, २५ लाख हुँदै अहिले ५० लाख पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्: