हिमालमा हिउँ पर्ने छाडे, मुस्किलले आधा भागमा मात्रै हिउँ

himalझापा । मनाङका सेताम्मे हिमाल जलवायु परिवर्तनका कारण अहिले काला पहाडजस्ता देखिन थालेका छन् । यहाँका अधिकांश हिमशृंखलामा अचेल मुस्किलले आधा भाग मात्रै हिउँले ढाकेको देख्न पाइन्छ ।

सिजनमा समेत कम मात्रै हिमपात हुन थालेकाले हिमालहरू हिउँविहीन देखिन थालेको टंकीमनाङका सोनामतप्के गुरुङले बताए । ‘पहिले त यस्तो हुँदैनथ्यो, प्रायः जाडो भइरहन्थ्यो’, उनले भने, ‘हिजोआज त जाडोमा साह्रै जाडो, गर्मीमा साह्रै गर्मी हुन थालेको छ ।’ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको र वर्षायाममा पहिलेको तुलनामा बढी पानी पर्न थालेको उनले सुनाए ।

विश्वकै चर्चित अन्नपूर्ण राउन्डमा पर्ने मनाङमा हिउँ पर्ने क्रम घटेपछि स्थानीय बासिन्दा पनि निराश भएका छन् । ‘हिउँले सबैतिर सेताम्मे देखिन्थ्यो । आजभोलि त खै हिमालमा समेत हिउँ छैन ? ’ अपर पिसाङका याङ्डुङ गुरुङले भने, ‘६० वर्ष यही गाउँमा बिताइयो, कहिल्यै यस्तो भएको देखेको थिइनँ । आजभोलि किन यस्तो भएको होला ? ’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: