प्रेस स्वतन्त्रताको हनन् बन्द गर

nepal patrakarबिर्तामोड । नेपाल पत्रकार महासंघ झापा तथा पत्रकारका विभिन्न संगठनले जिल्ला प्रशासन कार्यालय झापाबाट प्रेस स्वतन्त्रताको मान्यता विपरीत कार्य भएको भन्दै आपत्ति जनाएका छन् ।

पत्रकार महासंघ झााप शाखाको आज सोमवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठकले सञ्चारमाध्यममा प्रकाशित सामग्रीका विषयमा जिल्ला प्रशासन कार्यालयले पूर्वाञ्चल दैनिकका नाममा निर्देशनात्मक स्पष्टीकरणको पत्र पठाउने कार्य प्रेस स्वतन्त्रताको मान्यता विपरीत भएको ठहर गरेको छ । महासंघसहित संगठनहरुले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने कार्य तत्काल बन्द गर्न सरकार समक्ष माग गरेको छ ।

सचेत नागरिक समूह झापाको विषय जोडेर विभिन्न सञ्चारमाध्यममा पत्रकार महासंघ झापाका सचिव एकराज गिरी र सदस्य सुरेन्द्र भण्डारीलाई आघात पुग्ने गरी समाचार प्रकाशन प्रशारण भएकोमा बैठकले दुःख व्यक्त गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको बैठकले पत्रकार र सञ्चारगृहबीच आपसी सम्बन्ध सुमधुर राख्नुपर्ने आवश्यकता औंल्याएको छ । आगामी दिनमा पत्रकार सम्बद्ध संगठनहरुले कुनै पनि विषयमा माग राख्नु परेमा नेपाल पत्रकार महासंघको शाखामा ध्यानाकर्षण पत्र दिने र पत्रकारबीच द्वन्द्व बढ्ने कुनै पनि विज्ञप्तिबाजी नगर्ने सामुहिक प्रतिबद्धता सो अवसरमा जनाइएको छ ।

पहिचान नखुलेको अवस्थामा सचेत नागरिक समूहको विज्ञप्ति सञ्चारमाध्यममा प्रकाशन प्रशारण र सम्प्रेषण गर्ने कार्य असावधानीवस भएको ठहर गर्दै बैठकमा उक्त प्रकरणलाई सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालमा अब उप्रान्त नउठाउने प्रतिबद्धता व्यक्त भएको छ । महासंघका अध्यक्ष नेम्वाङ, पूर्वकेन्द्रीय सदस्य मोहन काजी, प्रेस युनियनका अध्यक्ष कृष्ण हुमागाई, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई., प्रेस सेन्टरका झुलन रेग्मीले निर्णय तथा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै महासंघका केन्द्रीय पार्षद लोकराज ढकाल, उपाध्यक्ष तारामणि सापकोटा, सचिव एकराज गिरी, सल्लाहकार तीर्थ सिग्देल, पूर्वअध्यक्ष माधव विद्रोही, सदस्य सुरेन्द्र भण्डारीले समेत हस्ताक्षर गरेका छन् । महासंघका केन्द्रीय पार्षद, पूर्व अध्यक्ष, संगठनका प्रमुखहरु, सल्लाहकार तथा कार्यसमितिसहितको विस्तारित बैठकमा प्रेस सेन्टर झापाका अध्यक्ष टीकाराम उप्रेती लगायत सबै संगठनका प्रतिनिधि तथा पार्षदले धारणा तथा सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: