‘यस कारण खानेपानीमा प्रगतिशील प्यानलले जित्न आवश्यक छ’ अध्यक्षका उम्मेद्वार ज्ञानुराम प्रसाईं

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी मंसीर २५ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि लोकतान्त्रिक समूह र प्रगतिशील प्यानलले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समूहबाट जलकुमार गुरुङको नेतृत्वमा उम्मेदवारी घोषण गरिएको छ भने प्रगतिशील प्यानलबाट ज्ञानुराम प्रसाईंको नेतृत्वमा उम्मेदवारी घोषण गरिएको छ । दुबै समूहले जित्ने दाबी गरिरहेका छन् । यसै सन्दर्भमा दुबै समूहका अध्यक्षका उम्मेदवारसँग गरिएको कुराकानी :

ggg

ज्ञानुराम प्रसाईं अध्यक्ष पदका उम्मेदवार, प्रगतिशील प्यानल

साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदका लागि तपाईको उम्मेदवारी किन ?

 आम उपभोक्ताहरुलाई स्वच्छ खानेपानी घर–घरमा पु¥याउन र यस संस्थामा आमूल परिवर्तन गर्नका लागि अध्यक्ष पदमा मेरो उम्मेदवारी हो ।

हिजोका दिनमा बिर्तामोडमा चामत्कारिक काम के–के गर्नुभयो र रुचाएका होलान् तपाईलाई उपभोक्ताले ?

म २२ वर्षदेखि बिर्तामोडमा रहेर लगातार सामाजिक कार्यमा निरन्तर लागीरहेको छु । मैले दर्जनौं संस्थामा विभिन्न पदमा रहेर काम गरिसकेको छु । देवी मावि बिर्तामोडको म दुई वर्ष अगाडि अध्यक्ष हुँदा ६० प्रतिशत विद्यार्थी ग्राउण्डमा छाप्रा बनाएर पढाउने गरेका थिए ।

दुई वर्ष्भित्रमा मैले दुईवटा भवन निर्माण गरी स्टेजसहितको कार्यक्रम स्थल तथा खेल मैदान निर्माण सम्पन्न गरेको छु । विद्यार्थी संख्या चारगुणाले वृद्धि गरी सामुदायिक विद्यालयमा नेपालकै दोस्रो विद्यालय बनाउन सफल भएको छु भने अहिले चार हजारभन्दा बढी विद्यार्थी पढाउँदै आएका छौं । खानेपानी संस्थामा पनि म एक कार्यकाल सदस्यको रुपमा रही काम गरिसकेको छु । म कार्यसमितिमा रहेको बेलामा हामीले धेरै धारा जडान तथा पाइप वितरण गरी अगाडि बढाएका थियौं । मैले कुशलतापूर्वक आफ्नो जिम्मेवारी वहन गरेको थिएँ । मैले जुन संस्थामा काम गर्ने अवसर पाएको छु, कसैले पनि शिर निहुरिने गरी काम गरेको छैन । त्यसैले खानेपानी संस्थामा एकपटक विजयी भएर उपभोक्ताको मन जित्न उम्मेदवारी दिएको हुँ ।

चुनाव जित्ने आधार चाही के हो तपाईको ?

मूलतः मैले आजसम्म यस बिर्तामोडमा रहेर समाजका लागि गरेको योगदान, खानेपानी संस्थामा लगातार रुपमा एकै प्रकारको नेतृत्वलाई फेर्ने आम उपभोक्ताको चाहना तथा विद्यमान अवस्थामा रहेका तीन वटा सरकारसँग समन्वय गरी कार्य अगाडि बढाउन सक्ने क्षमता म आफूमा रहेको हुनाले खानेपानीको चुनाव जित्नेमा म ढुक्क छु ।

खानेपानीमा राजनीतिक भएन र अहिले ?

नेतृत्व चयन गर्ने समयमा सामान्य राजनीति हुनु कसले कसलाई समर्थन गर्ने भन्ने कुरा सामान्य हो । म र मेरो टिमलाई अहिले राजनीतिक हिसाबमा नेकपा, समाजवादी र राजपाको समर्थन छ भने व्यक्तिगत हिसाबमा सम्पूर्ण उपभोक्ताको भित्री चाहना र समर्थन छ । र, जब म चुनाव जितेर खानेपानीमा जान्छु, त्यहाँ राजनीतिक रुपमा लगाएको जुत्ता बाहिर नै खोलेर मन्दिरमा प्रवेश गरे जस्तै गरेर स्वच्छ भावनाले काम प्रवेश गर्नेछु ।

आफ्ना प्रतिष्पर्धीलाई कुन रुपमा लिनु भएको छ नि ?

मेरो प्रतिस्पर्धी मेरा अनन्य मित्र जलकुमार गुरुङ हुनुहुन्छ । चुनावमा प्रतिस्पर्धीलाई सामान्य रुपमा बुझ्नु त हुन्न तर हामी लोकतन्त्रमा विश्वास गर्ने मानिस भएको हुनाले लोकतन्त्रको जीत र हारलाई सामान्यरुपमा लिएर सम्बन्धलाई झन् समुधुर बनाउनुपर्छ जस्तो लाग्छ मलाई ।

भावी योजना चाही के छ नि यहा को ?

योजना धेरै छन्, तर म जे गर्न सक्छु त्यो मात्र हामीले हाम्रो टिमको प्रतिबद्धताको रुपमा सञ्चारमाध्यम तथा विभिन्न माध्यमद्वारा उपभोक्ता समक्ष पु¥याउने कोशिस गरेका छौं । सुरक्षित खानेपानी र उचित सरसफाईका लागि खानेपानी उपभोक्ता संस्थाको नेतृत्व अत्यन्त महत्वपूर्ण सवाल हो ।

म र मेरो टिमले जितेको खण्डमा मुख्यतः खानेपानी र सरसफाईमा बिर्तामोड तथा अर्जुनधाराका सीमावर्ती वडाहरुलाई नमूना शहरको रुपमा विकास गर्नेछु । खानेपानी उत्पादन र वितरणमा वैकल्पिक ऊर्जाको प्रयोग गरी चुहावट नियन्त्रण, वैकल्पिक आयस्रोतको व्यवस्था र फजुल खर्च कटौती गर्नेछु । खानेपानीको मासिक महशुल र जडान खर्चमा २५ प्रतिशत घटाउने छु ।

नेपाल सरकारसँग तुरुन्त समन्वय गरी ओभरहेड टेंकसहितको नयाँ खानेपानी आयोजना विस्तार गर्नेछु । खानेपानीको गुणस्तर नियन्त्रणको लागि आवश्यक जनशक्ति उपकरणसहितको प्रयोगशाला स्थापना गर्नेछु, आगलागी जस्ता आकस्मिक दुर्घटना न्यूनीकरणको लागि शहरको मुख्य स्थानहरुमा फायर हाइड्रेन्ट पोइन्टको व्यवस्था गर्नेछु ।

खानेपानीको समग्र वितरण व्यवस्थापनमा आधुनिक प्रविधिको व्यवस्था गर्नेछु । खानेपानी संस्थालाई उपभोक्ताको सर्वोपरी हितमा लोकतान्त्रिक विधिबाट सञ्चालन गरी सुशासन कायम राख्नेछु । विगतमा संस्थाभित्र भएका अनियमितताहरुलाई छानविन गर्नेछु । साथै खानेपानीलाई मौलिक हकको रुपमा स्थापित गर्दै समग्र वितरण व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र सहभागिताको सिद्धान्तमा आफूलाई समर्पित गर्नेछु ।

अन्त्यमा मतदातालाई के भन्नुहुन्छ ?

सम्पूर्ण मतदाता महानुभावमा मेरो हृदयदेखि अनुरोध छ । एकपटक मेरो नेतृत्वमा रहेको प्रगतिशील प्यानललाई मतदान गरी निर्वाचित गरिदिनु होस् म तपाईंहरुको मतलाई खेर जान नदिने गरी इमानदारीपूर्वक तीन वर्ष काम गरी नेतृत्व हस्तान्तरण गर्नेछु भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्: