झापामा दुई जना कोरोना संक्रमितको मृत्य

मेचीखवर अनलाइन । झापा
झापासहित देशभर कोरोनाको संक्रमणसँगै मृतकको संख्या बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा मंगलबार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–५ की ६७ वर्षीया वृद्धा र वडा नं –४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो । स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।

ती सङ्क्रमितलाई आइतवार उपचारका लागि विर्तामोड ल्याइएको थियो । त्यस्तै दमक –५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो । दुवै सङ्क्रमितको मंगलबार नै कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

यसैबीच मंगलबार झापामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । बिर्तामोड, अर्जुनधारा, मेचीनगर, दमक, कनकाई, बुद्धशान्ति, हल्दिबारी र कमल गाँउपालिकाका नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख जीवन चम्लागाईले जानकारी दिए । झापामा हालसम्म २८ हजार आठ सय ४५ जनाको स्वाव परीक्षण गरिएकोमा एक हजार चार सय सात जनामा कोरोनाको संक्रमण देखिएको थियो । आजको पूर्वाञ्चल दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: