बडा दशैंको सातौ दिन, आज फुलपाती

मेचीखवर अनलाइन । झापा आज बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्र्याइँदै छ । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देवीको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ । नौ पातमा क्रमशः ब्रह्मायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ । यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । बडादशैंँको साताँैं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।

महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवम् स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द छ । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ । यस वर्षको फूलपाती बढाइँ साङ्केतिक यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति रपरम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टुँडीखेलमा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

उनले भने –स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । आजको पूर्वाञ्चल दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्: