भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

#गंगा बराल#

मेचीखवर अनलाइन । भद्रपुर

झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिइरहेको बेला भद्रपुरमा भने यस कार्यक्रमअन्र्गतका श्रमिकलाई वडा कार्यालयहरुसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा परिचालन गरिएकोले कार्यक्रम प्रभावकारी देखिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा दर्जनौं सडक निर्माण तथा स्तरोन्नतिमा श्रमिकहरुलाई परिचालन गरेको छ भने वडा नं २ मा नगरपालिकाको स्वामित्वमा रहेको बाईस कट्ठा जग्गामा बृहत कृषि परियोजना सञ्चालन गर्ने उद्देश्यले उक्त जमिनलाई व्यवस्थत गर्न श्रमिकहरु प्रिचालन भएका छन् । वर्षौंदेखि उपयोगविहीन रहेको सो जमिनमा यतिखेर खनजोत गरेर कृषि प्रयोजनका लागि उपयुक्त बनाइएको छ भने हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई कंक्रिट घेराबारा र टनेल निर्माणमा खटाइएको कार्यक्रमका संयोजक टिकाराम पाण्डेले बताउनु भयो । उक्त जमिन भद्रपुर नगरपालिका वडा नं १ र २ को सिमानामा पर्छ ।

सो जमिनमा व्यावसायिक तरकारी खेती तथा फलफूल खेती गरिने बताइएको छ । परियोजनामार्फत अहिले परिचालन गरिएका श्रमिकलाई नै स्वरोजगार बनाउने योजना रहेको छ । भविष्यमा कृषिको अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने गरी विकास गर्न लागिएको सो कृषि पाठशाला कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी १५ जनालाई सहभागी गराइने छ । उनीहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ बीउपूँजीको रुपमा जम्मा गरी ।

उनीहरुले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने  नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनु भयो ।

आफ्नो वडामा विगतमा उपभोक्ता समितिमार्फत गरिँदै आएका विकास निर्माणका काममा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई परिचालन गरिएको र लगानीको दृष्टिकोणले पनि कम बजेटमा गुणस्तरीय काम भएको बदाउँदै वडा नं १० का वडाध्यक्ष श्रमिकहरुलाई सही ढंगले परिचालन गर्न सक्दा प्रधानमनत्री रोजगार कार्यक्रमबाट उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।

भद्रपुरमा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८४ जनाले सय दिनको रोजगारी पाएका छन् । एक श्रमिकले एक दिनको ५१७ रुपैयाँ ज्याला पाउँछन् ।

कार्यक्रम उपलब्धिमूलक देखिएपछि यो कार्यक्रमलाई थप व्यवस्थित र नगरभित्र थप रोजगार सिर्जन ागर्न आ. व. ०७८ ०७९ का लागि भद्रपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेट्दै आफ्नो स्रोतबाट पनि बजेट विनियोजन गरी नगरसभामा पेश गर्न लागेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: