बार्षिकोत्सवमा ३ संस्थालाई साना मझौलाको आर्थिक सहयोग

मेचीखवर अनलाइन । बिर्तामोड
साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–१ ले ११ औ स्थापन दिवस तथा १० औ बार्षिकोत्सव तीनवटा संस्थालाई आर्थिक सहयोग गरेर मनाएको छ ।

संस्थाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी एकका लागि एक अभियान, व्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोड र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाआश्रमलाई आर्थिक सहयोग गरेको हो ।


एकका लागि एक अभियानद्धारा सञ्चालित अक्सिजन वैंक स्थापनाका लागि संस्थाले ३१ हजार, व्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिर्तामोडको भवन निर्माणका लागि ११ हजार र परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाआश्रममा रहेका बृद्धबृद्धालाई एकदिनको खाना खर्च बापत ४ हजार रुपैयाँ प्रदान गरेको संस्थाका व्यवस्थापक थेप्सुलाल गणेशले जानकारी दिए ।

संस्थाकी अध्यक्ष देवी निरौला बस्नेतले अभियानका संयोजक महेन्द्र गिरी, सह संयोजक विनोद वस्नेत, बृद्धाआश्रमका अध्यक्ष विक्रम मादेनलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् । संस्थाकी अध्यक्ष बस्नेतको अध्यक्षता तथा राष्ट्रिय सहकारी वैंकका सञ्चालक महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा सस्थापक अध्यक्ष खड्गप्रसाद ओडारी, सुरुङ्गा सेवा केन्द्र संयोजक राजेन्द्र उप्रेती, अभियानका सह–संयोजक बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाकी अध्यक्ष बस्नेतले साना मझौला व्यवसायी साकोसले विगतका बर्षहरुदेखि नै सामाजिक कार्यक्रम गरेर स्थापना दिवस तथा बार्षिकोत्सव मनाउँदै आएको जानकारी दिइन् ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त आर्थिक सहयोग गरेको बताउँदै उनले अक्सिजनको अभावमा कोही पनि विरामीले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर अभियानलाई आर्थिक सहयोग गरिएको बताइन् ।े असार १४ गतेसम्म संस्थाको शेयर सदस्य संख्या ५ हजार ८ सय ७० जना, शेयरपुँजी ७ करोड २८ लाख, निक्षेप २० करोड १६ लाख ३ हजार एकसय ८०, ऋण लगानी २९ करोड ५५ लाख ८० हजार रुपैयाँ रहेको संस्थाका कार्यकारी प्रमुख चन्द्रकुमार भट्टराईले जानकारी दिए । कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: