अर्जुनधारामा नगर विकास सहकारी

बिर्तामोड । अर्जुनधारा नगरपालिकामा ‘अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी सस्था’ स्थापना भएको छ ।

सहकारीमा आवद्व कृषकहरुले उत्पादन गरेको कृषि तथा पशुपन्क्षीको प्रशोधनदेखि बजारीकरण गर्दै उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको उक्त सहकारीको औचित्य र आवश्यकताबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिकाले प्रबर्धन गरेको उक्त सहकारी उत्पीडनमा परेका कृषकहरुको लागि आर्थिक समृद्धिको बलियो आधार हुने प्रमुख अतिथि समेत रहेका नगर प्रमुख हरिकुमार रानाको भनाइ थियो ।

सोमबार सहकारीबारे जानकारी दिन आयोजित अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रानाले उपस्थित शेयर सदस्यहरुलाई लक्षित गर्दै भने, ‘सफलता र असफलता तपाईंहरुको हातमा छ, असफल भएको खण्डमा नगरपालिकाले दिने अनुदानमा रोकिन सक्छ ।’ समृद्धि आफैँ नआउने भएको हुँदा त्यसका लागि संघर्ष र श्रम अत्यावश्यक रहेको उनले औँल्याएका छन् ।

नगर तदर्थ समितिका अध्यक्ष प्रत्युस रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, पशुपन्क्षी विकास शाखा प्रमुख पदमलाल राई र सहकारी ऐन् मस्यौदा समितिका संयोजक रुद्रमणी श्रेष्ठले सहजीकरण गरेका थिए ।

सहकारीमा हाल पाँच सय १५ जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: